अस्पतालमा कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गरिने
अस्पतालमा कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने बताएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन्।
उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन्। मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्। मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ।
मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको हो। कार्यालय समयमा बाहिर जानुपरे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ। मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए।
प्रतिकृया दिनुहोस