क्यान्सर रोग निवारणका लागि सिधुवामा जनचेतनामुलक अभियान

धनकुटा । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटाले क्यान्सर रोग निवारणका लागि शुरु गरेको जनचेतनामुलक अभियान अन्तर्गत बुधबार छथरजोरपाटी गाउँपालिकामा सचेतना अभियान सम्पन्न भएको छ ।
संस्थाले धनकुटामा पनि क्यान्सरका विरामी बढ्दै गएपछि विद्यालय तहबाटै जनचेतना जगाउने उदेश्यले क्यान्सर रोग निवारणका लागि सचेतनामूलक कार्यक्रम शुरु गरेको थियो । यसअघि धनकुटाको गोकुण्डेश्वर बालमन्दिर बिद्यालय, त्रिवेणी माध्यमिक विद्यालय, माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालय र भाषा माध्यमिक विद्यालयमा सो अभियान सञ्चालन गरेको थियो ।
सो अभियान अन्तर्गत छथरजोरपाटी गाउँपालिका ६ सिँधुवामा रहेको सरस्वती माध्यमिक विद्यालय र सगरमाथा इङ्लिस बोर्डिङ स्कुलमा क्यान्सर विरुद्धको सचेतना अभियान सम्पन्न गरेको छ । त्यसैगरी समुदायमा पनि क्यान्सर रोगको निवारणका लागि सचेतना गर्ने उदेश्यले सिधुवामा नेवारी समुदायमा पनि क्यान्सर रोग निवारणका लागि सचेतना कार्यक्रम गरिएको नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिए ।
सो सचेतना कार्यक्रममा डा. सम्पदा श्रेष्ठ, नेपाल भारत मैत्री संघका धनकुटा अध्यक्ष महेश प्रसाद श्रेष्ठ, नेपाल नेत्र ज्योती संघ धनकुटाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, दुर्गालक्ष्मी परोपकार संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठले क्यासर रोग निवारणका लागि अपनाउनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । सिधुवामा भएको कार्यक्रमको सहजीकरण भने सम्झना श्रेष्ठले गरेकी थिइन् ।
दुर्गालक्ष्मी परोपकार संस्था, नेपाल भारत मैत्री संघ धनकुटा र लायन्स क्लव बागमतिको सहयोगमा धनकुटाका विभिन्न विद्यालयमा एक सातासम्म सचेतना अभियान सञ्चालन गरिने दुर्गालक्ष्मी परोपकार संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस