तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको थियो । राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।
अदालतले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अरू ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ ।
चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा २ जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो ।
आदेश लेखनमा सहभागी शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, आदेश १ सय ५५ पन्नाको छ ।
तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।
‘उपस्थित नै नभएको उहाँहरूको हकमा अभियोग दायर भएकै दिन फरार प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्ने भन्ने भएको छ,’ पाण्डेले भने, ‘पहिलै आदेश भइसकेको छ । अहिले केही आदेश गर्नुपर्ने नै छैन ।’
प्रतिकृया दिनुहोस