सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण शुरु

पाहुना टोली सप्तरीको नमोबुद्ध युथ क्लव सेमीफाईनलमा प्रवेश

Vimnarayan cup

धनकुटा । धनकुटाकै प्रतिष्ठित मानिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण आजदेखि शुरु भएको छ ।

धनकुटा नगरपालिका–५, स्थित तल्लो टुँढिखेलमा शुरु भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता कोशी पहाडी जिल्ला कै सबै भन्दा ठूलो खेल मानिन्छ । चैत २३ गतेसम्म हुने यो गोल्डकपमा ए डिभिजनका ८ वटा टीमको सहभागिता रहेको छ । बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार सहित ट्रफी र मेडल पाउने छन् ।

धनकुटा वडा नं. ६ तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले २०५४ सालदेखि वडा कप गरेका थिए । पछि सोही खेललाई २०५५ सालदेखि भने सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सहिद भीमनारायण श्रेष्ठको नामबाट खेलाउन थालिएको थियो ।

पछिल्लो समयमा यो खेलको महत्व र चर्चा पनि उत्तिकै बढ्दै गएको छ । सो खेलमा स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका क्लब तथा राष्ट्रिय ए डिभिजन क्लबका ८ टिमको सहभागिता रहने छ । विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए ।

२०३५ माघ २३ गते धनकुटाका भीमनारायण श्रेष्ठलाई तत्कालीन पन्चायतले मृत्युदण्ड दिएको थियोे । उनै सहिद श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष सहिद भीमनारायण गोल्डकप हुँदै आएको छ । अघिल्लो वर्षदेखि खेल हेर्न निःशुल्क गरेपछि दर्शकको भने ओइरो लागेको थियो । यो वर्ष पनि निःशुल्क गरिएको हुँदा पहिलो दिनमा पनि दर्शकको उल्लेख्य सहभागीता रहेको थियो ।

आजको उद्घाटन खेल महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले उद्घाटन गरे । सो उद्घाटन कार्यक्रममा जिल्ला समन्व समिति धनकुटाका उपप्रमुख सावित्रा राई, सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, राजनीतिक पार्टीहरुको तर्फबाट नेकपा एमालेका नरेन्द्र पोख्रेल लगायतले भीम नारायण गोल्ड कप जिल्लाकै प्रतिष्ठित खेल भएकाले यसले खेल क्षेत्रको विकासमा टेवा पु¥याउने बताए ।

सो उदघाटन कार्यक्रममा संविधानसभा सदस्य तथा सहिदपुत्र मनोहरनारायण श्रेष्ठ, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, सहिद पत्नी लक्ष्मीदेवी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

सो प्रतियोगितामा ए डिभिजन क्लब सशस्त्रप्रहरीको एपीएफ सहित चित्लाङ फुटबल क्लब, बिर्ता युनाइटेड झापा, बेलवारी फुटबल क्लब, गाईघाट क्लब, व्वाईज फुटबल क्लब सुनसरी गरी ८ टिमको सहभागिता रहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

पछिल्लो समय धनकुटाका सबै स्थानीय तहमा समेत खेलकुदको विकासका लागि पर्याप्त खेलकुद प्रतियोगिताहरु भइरहेका छन् । तर दुर्भाग्य अहिलेसम्म खेलाडी उत्पादन गर्ने काम चाहिँ भएको छैन भने स्थानीय तहको लगानी पनि न्युन छ । जसका कारण धनकुटाको समग्र खेल क्षेत्रको अवस्था सामान्य रहेको जिल्ला खेदकुद विकास समितिका अध्यक्ष मनोज कुमार राईको भनाई छ ।

पाहुना टोली नमोबुद्ध युथ क्लव सेमीफाईनलमा प्रवेश
१७ औं संस्करणको पहिलो खेल आयोजकलाई स्तम्भ पार्दै पाहुना टोली सेमिफाइनल प्रवेश गरेको छ । उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-१ गोल अन्तरले हराउँदै सप्तरीको नमोबुद्ध युथ क्लव सेमीफाईनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवाती समयदेखि नै निक्कै दवावमा रहेका आयोजक टीम खेल सकिँदासम्म पनि सम्हालिन नसक्दा पाहुना टोलीसँग नराम्ररी पराजित भएको हो । सप्तरीले पहिलो हाफमै ३ गोल गर्दा आयोजक धनकुटाले गोल गर्ने अवसर पाउँदा पनि पटकपटक चुकेको थियो ।

खेलको १७ औं मिनेटमा नमोबुद्धका जर्सी नम्बर ६ का निर्मल घिसिङले गोल गर्दै टिमको खाता खोले । ३२ औं मिनेटमा नमोबुद्धका जर्सी नम्बर ९ का खेलाडी मिक्सन डासले गोल थप्दै टिमलाई २-० ले अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा पुनः नमोबुद्धका जर्सी नम्बर २५ का मोहित गुरुङले गोल गर्दै पहिलो हापमा आयोजकलाई ३-० गोलले पछि पारे ।

आयोजकको तर्फबाट भने दोस्रो हाफमा दिपेन शाक्यले सान्त्वना गोल गरे । आजको खेलको म्यान अफ द म्यान विजेता नमोबुद्ध युथ क्लवका जर्सी नं. ६ का निर्मल घिसिङ घोषित बने । सोमबार हुने खेल ब्वाईज फुटबल क्लब सुनसरी र गाइघाट फुटबल क्लबबीच हुनेछ ।

फाइनल भने चैत २३ गते शनिबार हुनेछ । गत वर्ष १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले हात पारेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...