प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ

Prachanda kavre

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

माओवादीको काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरू प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरूकै सरकार बन्ने दाबी गरेका हुन् । प्रचण्डले सरकार निर्माणमा आफ्नो पार्टीको भूमिका अझै महत्त्वपूर्ण रहने पनि बताए । संसदमा रहेको अंकगणितका हिसाबले वर्तमान सत्ता गठबन्धन भत्किएमा माओवादी केन्द्र संलग्न सरकार गठन हुने दाहालको दाबी छ ।

‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरूले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

यसअघि सरकारको नेतृत्व गरिरहेका बेला पनि प्रचण्डले माओवादीसँग ३२ सिटको जादुयी सांसद संख्या रहेकाले आफू नेतृत्वको सरकार नढल्ने अभिव्यक्ति दिएका थिए ।

चण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरू फेरि एकताबद्ध हुने बताए । कतिपयसँग वार्ता भइरहेको र एकता गर्न हतार गरिरहेको तर कतिपयसँग कुराकानी चलिरहेको उनले बताए । तीबाहेक नागरिक समाजका थुप्रै व्यक्ति, कांग्रेस र एमालेमा आस्था राख्ने बुद्धिजीवीहरूले पनि एक पटक प्रचण्डले आन्दोलनको अगुवाइ गरिदिनुपर्‍यो भनेर आफूलाई आग्रह गरेको उनले बताए ।

प्रचण्डले अब आफूहरूसँग आन्दोलनको विकल्प नभएको बताए । प्रचण्डले पार्टी निर्माणका लागि क्रियाशील बन्न आग्रह गरे‍का थिए । छिट्टै पार्टी केन्द्रीय कमिटी बैठक बसेर नयाँ कार्यक्रम तय गर्ने जानकारी दिँदै उनले यसबीचमा ७ सय ५३ वटै पालिकामा खबरदारीसभा गर्नतिर लाग्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिए ।

वर्तमान सत्ता गठबन्धनले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको दाहालको आरोप थियो । आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा चालेका कदमलाई रोकेको पनि उनले बताए । भ्रष्टाचारीलाई कारबाहीको दायरामा नल्याएसम्म जनताले नछोड्ने र माओवादीले पनि त्यसमा खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।

माओवादी सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा परिणाम आउने गरी काम भएको बताउँदै दाहालले ती कदम चालेकोमा सरकारबाट हटाउने काम भएको दाबी गरे ।

प्रतिकृया दिनुहोस