राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
प्रहरीले मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । उनीहरू सबै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारीहरूलाई भेट्न विभिन्न अस्पताल पुगेका थिए ।
प्रहरी कार्यालयबाट कुरा गर्दै मिश्रले दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिएको बताए । ‘अहिले हामी दुवै जना घाइतेलाई भेटेर अस्पतालबाट फर्कंदै थियौं । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो,’ मिश्रले भने ।
प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहोस