संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा नरहेको बताएका छन् ।
बाहिर सरकारले पार्टीहरु विभाजन गर्न विषेयक ल्याउन लागेको भन्दै चर्काे आलोचना भइरहेका बेला संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् ।
उनले भने, ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन ।’
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरे । शान्तिरानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै ढल्छ भन्दै हिँडेकोप्रति आपत्ति जनाए ।
‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादि,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’
ओलीले संविधान संशोधन विधेयक ल्याउने स्पष्ट पारे । ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले सरकारले विधेयक ल्याउने बताए । ‘विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ,’ प्रधानमन्त्रीले भने, ‘मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ ।’
प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा सुरुमा विरोध गर्ने दलहरूभित्रै अहिले संविधान संशोधनका विषयमा छलफल भइरहेको सुनेर खुसी लागेको बताए ।
‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ,’ प्रधानमन्त्रीले भने, ‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ ।’
ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नगर्ने र गर्न नदिने काममा लागेको बताएका छन् । उनले आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती समेत दिए ।'हावादारी कुराहरू बजारमा छरेको पाइयो । स्विजरल्यान्डको बैंकमा यति डलर श्रीमतीका नामा लुकाएर राखेको छ । टेलिकममा यति लुकाएर राखेको छ । तिनै कराइरहेका सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मान्छेहरू छन् । यस्ता हावादारी कुरा गरेको देख्दा सरकारका काममा आलोचना गर्ने ठाउँ रहेनछ’ उनले भने ।
त्यस्तै आफू र परिवारका सदस्यले भ्रष्टाचार गरेको भनेर कपोलकल्पित तरिकाले भ्रम फैलाइएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् । सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ । सरकार गल्ती गर्दैछ भनेर । तर चरित्र हत्या गर्ने गर्न लागि यस्ता झुठा, कपोकल्पित, निराधार हुनै नसक्ने अफवाह फैलाउनु यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली र हाम्रो राजनीतिक दलहरूको मर्यादा गरिमाविपरीत छ’ उनले भने ।
प्रतिकृया दिनुहोस