प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वास प्राप्त, विपक्षमा ७४ मत

Kp oli 6

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वास प्राप्त गरेका छन् ।

गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका छन् भने विपक्षमा ७४ सांसदले मतदान गरे ।

सभामुख देवराज घिमिरेले दिएको जानकारी अनुसार आइतबारको प्रतिनिधि सभा बैठकमा २६३ सांसद उपस्थित थिए । उपस्थितमध्ये ओलीलाई १८८ सांसदले विश्वासको मत दिएका हुन् । एक जना सांसद भने तटस्थ बसेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते मध्यराति भएको सहमतिअनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए । गत असार २८ गते निवर्तमान प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वासको मत गुमाएपछि ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । अन्य कसैको दाबी नपरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले गत असार ३१ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

यी दुई दलबीच भएको समझदारी अनुसार, ओलीले पहिले दुई वर्ष र त्यसपछि ०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।

प्रतिकृया दिनुहोस