भरतपुर अस्पतालमा डायलायसिस सेवा
चितवन । भरतपुर अस्पतालमा आइतबार देखि मिर्गौलाको डायलायसिस सेवा शुरु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।
आफ्नी आमा लिएर आएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा ३ पटक डायलासिस गरिएको बताउँदै ८ उपकरणमध्ये ५ बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताए । अस्पतालमा १२ उपकरण रहेकाले एकै पटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिने छ ।
मरासिनीका अनुसार सेवाका लागि छ प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य छ जना तालीममा नै छन् । शुरुमा २ चरणमा २४ जनाको डायलासिस गरिने छ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उनले बताए ।
ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए ।
जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिने छ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा छ मात्र उपकरण छन् ।
निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दैैै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् ।
प्रतिकृया दिनुहोस