एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षमा सरीता खड्का सर्वसम्मत, उपाध्यक्षसहित केही पद घोषणा हुन बाँकी

इटहरी । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत चयन भएकी छन् ।
सुनसरीको इटहरीमा भएको पहिलो प्रदेश अधिवेशनमा धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र विनोद खड्काले पनि दाबेदारी पेस गरेका थिए । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।
सरिता यसअघि उपसचिव थिइन् । २०७४ मा समानुपातिक प्रदेशसभा सांसद भएकी उनी ७९ को चुनावमा भने संखुवासभा १ (१) मा पराजित भएकी थिइन् । कोशी प्रदेशकी पूर्वसांसद खड्का एमालेका स्व. नेता डम्बर खड्काकी श्रीमती हुन् । नेकपा एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।
उपाध्यक्षको नाम भने घोषणा भइसकेको छैन । सचिवमा जलेश्वर राई सर्वसम्मत घोषणा गरिएको छ । उपसचिवमा भवानी शंकर विक दलित तर्फबाट हिजै सर्वसम्मत भएका थिए । खुल्लातर्फ भने छिरिङ लामा निर्वाचित भएका छन् ।
महिला उप सचिवको नाम घोषणा हुन बाँकी छ । महिला उपसचिवमा सिर्जना लामा, विक्रमी चौधरी र मिरा दाहालले उम्मेदवारी हालेका छन् । रिक्त रहेको पदाधिकारीसहित सदस्य प्रदेश कमिटीको बैठकले मनोनीत गर्नेछ । प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ ।
सो अधिवेशनको नयाँ नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डलको अध्यक्ष राजेन्द्र राई थिए । पूर्वमुख्यमन्त्रीसमेत रहेका राई पार्टीका उपमहासचिव हुन् । अध्यक्ष मण्डलको राजन राई, जीवन राई, खिनु लंगवा, अशेष घिमिरे र विद्या चाम्लिङ थिए ।
प्रतिकृया दिनुहोस