यी हुन स्वस्थ रहने सजिलो पाँच सूत्र

Swasth


काठमाडौं । स्वस्थ रहने सबैको चाहना हुन्छ । तर, स्वास्थ्य भन्ने कुरा शरीरमा रोग नहुनु मात्र होइन भन्ने कुरा कमैलाई थाहा होला।

गुणस्तरीय जीवनको पहिलो आधारस्तम्भ हो स्वास्थ्य । जुन जैविक, वातावरणीय, सामाजिक, भावनात्मक तथा आध्यात्मिक जस्ता तत्वहरुको समुचित अन्तर्क्रियाबाट निर्धारित हुन्छ । अर्थात् व्यक्ति र व्यक्तिसँग उपलब्ध स्रोत–साधनबीचको सन्तुलित अन्तर्क्रियाले स्वास्थ्य निर्धारण गर्छ।

स्रोत–साधनअन्तर्गत व्यक्तिको आर्थिक अवस्था, पोषिलो खाना, स्वच्छ पानी, स्वास्थ्य सेवा, व्यवस्थित यातायातमा पहुँच, परिवार र समुदायसँगको सम्बन्ध एवं व्यक्तिगत ज्ञान आदि पर्छन्।

यति धेरै पाटो हेर्दा स्वस्थ रहने कुरा निकै कठिन लाग्न सक्छ । किनभने माथि उल्लिखित सबै तत्वहरु सधैंभरि सन्तुलित नरहन सक्छ । त्यसमाथि धेरैजसो स्वास्थ्यको निर्धारक तत्व व्यक्तिगत नियन्त्रणभन्दा बाहिरका हुन्छन्।

यिनै कठिनाइलाई सम्बोधन गर्न मानवीय तथा सामुदायिक स्वास्थ्य कायम गर्ने जिम्मेवारीलाई अन्तर्राष्ट्रिय, राष्ट्रिय, सामुदायिक, पारिवारिक हुँदै परिवारको सानो इकाई मानिने व्यक्तिगत स्तरसम्म बाँडिएको छ ।

स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुरा अगाडि आउँछ । विश्व स्वास्थ्य संगठनको दक्षिण एसियाली क्षेत्रीय कार्यालयले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए बि सि डि इ ।

ए: एभोइड अल्कोहल

सानादेखि ठूला, सुखद र दुःखद जस्तोसुकै अवसरलाई बहाना बनाएर मदिरा पिउने चलन हामीकहाँ नयाँ हैन । क्षणिक रमाइलोका लागि नशाको सहारा लिने यही बानी हाम्रो स्वास्थ्यको लागि घातक भइरहेको पत्तो पाउँदैनौं । यसैले मदिरा पिउने बानीलाई आजैदेखि नियन्त्रण गर्नुस् ।

रक्सी सेवनले शरीरका अंगलाई पुर्‍याउने क्षति र व्यक्तिगत उत्पादकत्वमा ल्याउने ह्रासको हिसाबकिताब गर्नुस् । टोल र बस्तीलाई हैन, आ–आफ्नो घरलाई नै मदिरामुक्त क्षेत्र घोषणा गर्नुस्।

मदिरा सेवनले मुटु तथा मिर्गौलाको रोग, क्यान्सर, मधुमेह आदिको जोखिम बढाउँछ । यी रोगबाट बच्ने उपाय अपनाउनु भनेको आफ्नो आर्थिक बचतका साथै राज्यको निःशुल्क स्वास्थ्य सेवामा लाग्ने आर्थिक भार कम गर्नु पनि हो।

बि: बि फिजिकल्ली एक्टिभ

बढ्दो आर्थिक सम्पन्नताले हाम्रो दिनचर्या आलस्यपूर्ण बन्दै गएको छ । त्यसले रोगलाई निम्ता दिइरहेको हुन्छ । यसैले टेबल वर्कले शारीरिक निस्क्रियता नल्याओस् भन्नेतर्फ सचेत हुनुस् ।

शारीरिक रुपमा सक्रिय भएमा धेरैजसो रोग टाढै हुन्छन् । यसैले दैनिक बिहान योग प्राणायामलाई जीवनमा समावेश गर्नुस् र मधुमेह, उच्च रक्तताप जस्ता दीर्घरोगहरु टाढा रहनुस्।

सीः कट डाउन साल्ट एन्ड सुगर

बढी नुन र मसालेदार खानेकुरा हाम्रो शरीरले धान्न सक्दैन । अत्यधिक नुन पाइने बजारका प्याकिङ खानेकुरा र गुलियो सफ्ट ड्रिंक्स सकेसम्म सेवन नगर्नुस् । विश्वव्यापी रुपमा अब सफ्ट ड्रिंक्सको बोतलमा पनि चुरोटको बट्टामा जसरी क्यान्सरको चेतावनीको चित्र राख्नेबारे बहस हुन थालेको छ।

महामारी जसरी फैलिरहेको मधुमेह रोगको एउटा कारक सफ्ट ड्रिंक्स हुन सक्ने कुरा अनुसन्धानले संकेत गरेको छ ।

डीः डन्ट युज टोबाको प्रडक्ट्स

विश्वमा मृत्यु हुने हरेक १० जनामा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा प्रतिवर्ष करिब दस हजार जना क्यान्सरका रोगी भेटिने गरेका छन् ।

तपार्इं ती दस हजार जनाभित्र पर्न चाहनुहुन्न भने धूमपान त्याग्नुस् । तपाईंले धूमपान गर्दा छेउको व्यक्तिलाई पनि असर गर्ने भएकाले परिवारका सदस्यलाई दिनदिनै कति असर परेको होला भन्ने ख्याल गर्नुस्।

सरकारले जारी गरेको धूमपानमुक्त सार्वजनिक ठाउँहरुको सम्मान गर्दै सभ्य नागरिकको परिचय दिनुस् र आफ्नो घरलाई पनि धूमपानमुक्त बनाउनुस् ।

इ: इट प्लेन्टी अफ भेजिटेबल्स एन्ड फ्रुट्स

राम्रो स्वास्थ्यको आधार राम्रो खानपान नै हो । मौसम अनुसारको उपलब्ध भएसम्मको हरिया सागपात, फलफूल खाने गरौं ।

‘हरेक बार खाना चार’ लाई ९१। अन्न तथा कन्दमुल २। गेडागुडी ३। हरिया सागपात–फलफूल र ४। दूध, दही, अण्डा, माछा, मासुमध्ये एक० हरेक छाकमा समावेश गरौं।

अन्त्यमा, तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा गत बैशाखबाट सुरु भएको ‘म स्वस्थ मेरो देश स्वस्थ’ अन्तर्गत ‘मेरो वर्ष २०७४’ देशव्यापी अभियानमा पनि ‘म’ भन्ने शब्द बारम्बार दोहोर्‍याइएको छ

– म रक्सी, चुरोट र सुर्ती जन्यपदार्थ खान्नँ,

– म नियमित व्यायाम गर्छु,

– म स्वस्थ र पोषिलो खाना खान्छु,

– म नियमित स्वास्थ्य परीक्षण गराउँछु,

– म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहनेछु ।

अर्थात् स्वस्थ रहनु छ भने स्वयंको जिम्मेवारीलाई केन्द्रमा राख्नैपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...