सिट बाँडफाँट गर्न बनेको कार्यदल सहमति नजिक, ६० सिटमा कांग्रेसको मात्रै दाबी

काठमाडौं । पाँचदलीय गठबन्धन सिट बाँडफाँट गर्न बनेको कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने भएको छ ।
मंगलबार अबेरसम्म बसेको कार्यदल बैठकमा सबै क्षेत्र बाँडफाँटमा सहमति हुन नसकेपछि त्यही आधारमा प्रतिवेदन बुझाउन लागेको हो । मंगलबार साँझ बसेको गठबन्धनका शीर्ष नेतासहितको कार्यदलको बैठकले त्यसबारे अन्तिम सहमति जुटाउन सकेन । बुधबार फेरि बस्ने गरी बैठक सकिएको छ ।
कार्यदलले केही सिटको बाँडफाँट टुंग्याएको छ । तर धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मंगलबार पनि सहमति जुट्न नसकेको कार्यदलका सदस्यहरुले बताएका छन् ।
आगामी मंसिर ४ को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दल एक महिनादेखि सिट बाँडफाँटको छलफलमा छन् । तर, त्यसबारे सहमति भने हुन सकेको छैन ।
सिट संख्या टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलका एक सदस्यका अनुसार मंगलबार साँझसम्म कांग्रेसले लिन चाहेको ६० सिटमा अरु दलले दाबी गरेका छैनन् ।
माओवादी केन्द्रले दाबी गरेको १२/१३, एकीकृत समाजवादीले दाबी गरेको ७/८ र जनता समाजवादी पार्टीले दाबी गरेको ६/७ सिटमा अरु दलको दाबी छैन । ‘बाँकी सिटमा दुई वा दुईभन्दा बढी दलको दाबी छ,’ कार्यदलका एक सदस्य भन्छन्, ‘अब सम्बन्धित दलहरुबीचमा पनि कहाँ छोड्ने र कहाँ लिने भनेर छलफल हुन्छ । आफ्नो दलभित्र पनि आन्तरिक छलफल हुन्छ ।’
प्रतिकृया दिनुहोस