कठघराबाट चोलेन्द्र शमशेर जबराको प्रश्न : महाभियोग प्रस्ताव नै समितिमा बस्न मिल्छ ?
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिएका छन् ।
झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन् ।
जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाए । जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे ।
उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।
बुधबारको बयानका क्रममा उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका थिए ।
महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो । उनीविरुद्ध सत्तारुढ दलले गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए ।
प्रतिकृया दिनुहोस