एमालेले गर्‍यो वाम गठबन्धनको आव्हान, टिकट दिने जिम्मा अध्यक्ष ओलीलाई नै

Uml central miting

काठमाडौं । एक्लै बहुमत ल्याएर सरकार बनाउने उदघोष गर्दै आएको नेकपा एमालेले अन्ततः चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको राग अलापेर मात्रै नहुने बताएका थिए । 'केही दक्षिणपन्थी शक्तिहरुलाई पार लगाउन उतै टाँसिएका छन् । यदि साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो,' ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, 'विचार मिल्नेहरु एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं ।'

यसअघि अध्यक्ष ओलीले आफूबाहेक कोही पनि वामपन्थी शक्ति नभएको बताएका थिए । २०७४ चुनावमा पनि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

बैठकले मंसिरमा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको एकल नेतृत्वमा सरकार गठन गर्ने गरि चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए ।

दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने ।

सो बैठकले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ ।

सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधि सभा र सम्बन्धित प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ। एमालेले उम्मेदवार छनौटको मापदण्ड पनि तय गरेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए ।

एमालेले निर्वाचन परिचालनमा युवाहरुलाई समेट्ने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ । अनेरास्ववियू, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघका आबद्ध युवाहरुलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको एमालेले जनाएको छ । बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

गुरुङका अनुसार बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानबिनन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो ।

त्यसैगरी पार्टीको केन्द्रिय अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोगले पनि बैठकमा आ–आफ्नो कामको प्रगति विवरण बैठकमा प्रस्तुत गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...