यस्तो छ उम्मेदवार बन्न एमालेको मापदण्ड : पछिल्लो चुनाव हार्नेहरुलाई उम्मेदवार नबनाइने

काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
शनिबार सकिएको केन्द्रीय कमिटीको बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने विधि तय गरेको हो । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन गरिएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार त्यसरी सिफारिस गर्दा एक महिलासहित ३ महिलाको नाम सिफारिस गर्नुपर्ने छ ।
स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न भनिएको छ । एमालेले पछिल्लो पटक भएका कुनै पनि निर्वाचनमा पराजित भएकाहरुलाई उम्मेदवार नबनाउन भनेको छ । अन्य पार्टीबाट प्रवेश गरेकाहरुको हकमा भने विशेष निर्णय गरिने गुरुङले जानकारी दिएका छन् ।
प्रत्यक्षतर्फ कति पटक उम्मेदवार हुने भनेर किटान गर्नु व्यवहारिक नहुने भएकाले जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी खेल्न सक्ने व्यक्ति हेर्नुपर्ने समेत एमालेको निर्णय छ ।
एमालेले पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने उम्मेदवार चयनको मापदण्ड बनाएको छ ।
प्रतिकृया दिनुहोस