एमाले केन्द्रिय समिति बैठक : गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लडन डराए (ओलीको प्रतिवेदनसहित)
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
ओलीले प्रतिवेदनमा सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । उनले गठबन्धन एकातिर हुँदा पनि एमालेको पक्षमा जनमत रहेको दाबी गरेका छन् । प्रतिवेदनमा भूराजनीतिक बहाब र सिर्जित नयाँ चुनौती, गठबन्धन सरकारको समीक्षा, चुनावी रणनीतिलगायतको विषय समेटिएको छ ।
उनले प्रतिवेदनमा भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लडन डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन, यसले उनीहरूको शक्ति, सामर्थ्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धर्मराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ । हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन् ।’
मुलुकमा जुन ढङ्गको राजनीतिक नवीकरण भइरहेको छ त्यो तत्कालका लागि यो चुनौतीपूर्ण भएपनि दीर्घकालीन हिसाबले सकारात्मक रहेको पनि ओलीको ठहर छ ।
ओलीले आफ्नो प्रतिवेदनमा बहुमतका लागि आवश्यक वर्ने करिब १६ प्रतिशत मत पार्टीलाई अपुग भएकाले त्यसलाई वृद्धि गर्न ठोस योजनाका साथ अघि बढिने बताएका छन् । यस्तै एमाले सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने, नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता योजना पनि आफ्नो प्रतिवेदनमा समेटेका छन् ।
प्रतिकृया दिनुहोस