जसपाको संघीय परिषद् अध्यक्षमा 'राईको इन्ट्री','भट्टराई आउट'
काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो ।
सो बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । जसमा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।
बैठकले विधान संशोधनसहित पारित गरेको छ । बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो ।
पार्टी विभाजन नजिक पुग्दा भट्टराईलाई बढी नोक्सान पुगेको छ । झण्डै पाँच सय केन्द्रीय सदस्य रहेकोमा भट्टराईको पक्षमा ४० प्रतिशतभन्दा कम सदस्य मात्रै छन् ।
त्यस्तै जसपाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदमा भट्टराईसँग पूर्वमन्त्री महिन्द्रराय यादवभन्दा अरु कोही छैन । लामो समयदेखि साथ दिँदै आएका पार्टीका नेता अशोक राईले साथ छाडेपछि भट्टराईलाई ठूलो झड्का लागेको विश्लेषण भइरहेको छ । तर भट्टराई पक्षका नेताहरुले भने केन्द्रीय सदस्य र सांसद संख्याले खासै अर्थ नराख्ने दाबी गर्छन् ।
कतिपय नेताहरुले भने अझै पनि आफूहरुको पक्षमा २ सय ५० को हाराहारीमा केन्द्रीय सदस्य रहेको दाबी गर्छन् । पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य संख्या आफूहरुसँग रहेको भट्टराई पक्षधर नेताहरुको दाबी छ ।
उता यादव पक्षधर नेताहरुले पनि आफूहरुको पक्षमा बहुमत संख्यामा केन्द्रीय सदस्य र सांसद रहेको दाबी गरेका छन् । काठमाडौंमा भट्टराई पक्षले गरेको भेलालाई यादव पक्षले अवैध भनेको छ ।
प्रतिकृया दिनुहोस