उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि, गठबन्धनबाट कांग्रेसकी भुषालको पक्कापक्की
काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ ।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुने छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए । संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।
अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले नेपाली कांग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् ।
यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।
पाँच दलीय गठबन्धनसँग कांग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ । लोसपा पनि सत्ता गठबन्धनसँगै नजिक छ । लोसपाले एमालेलाई साथ दिएपनि गठबन्धनकै पल्लाभारी देखिन्छ ।
यता प्रतिनिधिसभामा नेकपा एमालेको ९८ जना छन् । एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइ सकेको छैन । एमालेले उम्मेदवारी दिए पनि पराजित हुने पक्कापक्की छ ।
प्रतिकृया दिनुहोस