माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने
काठमाडौं । पदाधिकारी टुंगो लगाउन स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक स्थगित गरेर हिजो दिनभर आन्तरिक छलफल गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
दिउँसो १ बजे प्रज्ञा भवनमा बस्ने बैठकमा प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पनि दिने कार्यसूची छ । माओवादीमा महासचिव चयनको विषयमा विवाद देखिएको छ ।
महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले आकांक्षा देखाएका छन् । पदाधिकारी नटुंगिए पनि केन्द्रीय समितिको बैठकले पोलिटब्यूरो र स्थायी समिति भने टुंग्याउने तयारी गरेको छ ।
बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए । तर अहिले स्थायी कमिटी र पोलिटव्युरो मात्र टुंगो लगाएर केन्द्रीय समिति बैठक सम्पन्न गर्ने तयारी रहेको एक नेताले बताए ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।
अध्यक्ष प्रचण्डले पहिलो दिनको बैठकमा राखेको नौ एजेण्डाहरुमा पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरो पनि गठन गर्ने उल्लेख थियो । तर पदाधिकारीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा नेताहरुबीच हानथाप भएकाले अध्यक्ष प्रचण्डले निर्णय गर्न सकेका छैनन् ।
गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशन अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिंदै सम्पन्न भएको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।
आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस