राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीले लिए सपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव रहेका छन्।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनजना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सोमबार नै तीनलाई मन्त्री पदमा नियुक्ति गरेका हुन् ।
यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सोमबार नै राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी थिइन ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस