अब कुहिने र नकुहिने नछुट्ट्याएको फोहोर महानगरले संकलन गर्दैन: मेयर शाह

Balendra sah

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आजदेखि फोहोर उठाइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले काठमाडौँको फोहोर व्यवस्थापन गरिने बताएका हुन् ।

बालेनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन । समाधान तपाईंहरूको साथबिना सम्भव हुँदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन् । कुहिने र नकुहिने फोहोरलाई छुट्ट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।

जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्ट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईंहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलगअलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनुहुनेछ । महानगरले पनि पहिलेका कमजोरी वा गल्तीहरू दोहोर्‍याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्ट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्नेछ ।

हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईंले छुट्ट्याइसकेको फोहोरलाई महानगरले पुनः एकै ठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईंले छुट्ट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्ट्याई ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन । यसको अर्थ हो, नछुट्ट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिनेछ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ, तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ । यो सूचना चाँडोभन्दा चाँडो फैलाउनका लागि आफ्नो परिवार, आफन्त र साथीहरूसँग यसबारेमा कुरा गर्नुहोला । हामी सबै एकै भएर फोहोरविरुद्धको मोर्चामा बनाऔँ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...