सूर्यविनायक नगरको पहिलो कार्यपालिका बैठक सम्पन, विभिन्न विषयगत समिति गठन
भक्तपुर: सूर्यविनायक नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । आगामी पाँच वर्षका लागि निर्वाचीत जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठक बिहीबार सम्पन्न भएको हो । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको पहिलो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले मतदातालाई धन्यवाद ज्ञापन गर्दै विभिन्न ६ वटा विषयगत समिति गठन गरेको छ । यसअघि पाँच वटा समिति रहेकोमा यो पटक लेखा समिति थप गर्दै ६ वटा समिति गठन गरिएको हो । बैठकले ६ वटा समितिका संयोजक समेत तोकेको छ ।
बैठकले सार्वजनीक सेवा तथा क्षमता विकास समिति संयोजकमा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, विधायन समिति संयोजकमा वडा नं. २ का वडाध्यक्ष प्रदिप काकी, लेखा समिति संयोजकमा वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सामाजीक विकास समिति संयोजकमा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, आर्थिक विकास समिति संयोजकमा वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वातावरण तथा विपत्त ब्यवस्थापन समिति संयोजकमा वडा नं. ९ का वडाध्यक्ष भगवान खत्री र पूर्वाधार विकास समिति संयोजकमा वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलाई तोकिएको छ ।
बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालाई जिम्मेवारी दिएको छ । त्यस्तै, आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धमा छलफल गर्दै नगर सभा छिटो भन्दा छिटो गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा मेयर बासुदेव थापासहित उपमेयर सरिता भट्टराई, वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु सहभागि थिए। बैठकमा सम्बोधन गर्दै मेयर थापाले नगरपालिकालाई समृद्ध र सुखी नगर बनाउने अभियानमा सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । बैठक निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस