स्थानीय तहको निर्वाचन : धनकुटामा गठबन्धनको बाटो ‘बिनासकालीन विपरित बुद्धि’ तिर
नजिकियो निर्वाचन, नजिकिएनन् गठबन्धन
धनकुटा । ‘बिनासकालीन विपरित बुद्धि’ यो उखान त्यसै बनाइएको होइन । नेपाली परिवेश अनुसारको यो उखना धनकुटाका राजनीतिक दलहरुको व्यवहारसँग ठ्याक्कै मेल खान्छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा गठबन्धन दलहरुबीचको भागबण्डा नमिल्दा गठबन्धन नै टुट्ने अवस्थामा पुगेको छ ।
गत स्थानीय तहको निर्वाचनमा धनकुटामा सात वटै स्थानीय तहमा नेकपा एमालेले जित हात पारेर क्लीन स्वीप नै गरेको थियो । तर, यो पटक एमालेलाई नै ‘क्लीन स्वीप’ गर्ने उद्घोष गरेका धनकुटामा गठबन्धन नै फेरि ‘क्लीन स्वीप’ हुने अवस्था आएको छ ।
धनकुटामा गठबन्धनमा पहिलो शक्ति नेपाली कांग्रेस हो । तर, नेपाली कांग्रेसले पाँच वटा पालिकामा आफ्नो दावी नछोड्दा गठबन्धन टुट्ने स्थितीमा पुगेको छ । पटकपटक बसेको गठबन्धनको बैठकमा कांग्रेस लगायतका दलहरुले आफ्नो दावीबाट एक इन्च पनि पछि नहटेपछि लगभग धनकुटामा गठबन्धन टुट्ने अवस्था आएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले सात पालिकाको प्रमुख र उपप्रमुख सहित ४३ वटा वडाहरु जितेको थियो । एमाले विभाजपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा ३ जना वडाध्यक्ष लागेका छन् । यति हुँदा पनि धनकुटामा ६० मध्ये एमालेको ४० वटा एमालेको हातमा छ ।
पाँच वर्षको अवधीमा धनकुटामा भ्रष्टाचार बढेको, विकृती र विसंगति बढेको भन्दै २०७८ चैत ७ गते नै हतार हतार धनकुटाका क्रियाशील ४ वटा दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका जिल्ला अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन गरेर जिल्लामा गठबन्धन दल एक भएर निर्वाचनमा भाग लिने घोषणा गरेका थिए । तर अन्तिम समयमा भागबण्डामा कुरा नमिल्दा गठबन्धन भत्किने निश्चित भएको छ ।
गठबन्धन अनिर्णत
आइतबारदेखि देशभर उम्मेदवारहरुको मनोनय छ । धनकुटामा नेकपा एमालेले सबै उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । यद्यपि सार्वजनिक गरेको छैन । एमालेले गाउँगाउँमा टिकट वितरण गरेर निर्वाचन प्रचार प्रसारलाई तीव्र बनाइसकेको छ । तर गठबन्धन दलहरु भने अझैं सिट बाँडफाँडको नजिक पुग्न सकेको छैन ।
चार पार्टीको गठबन्धन हुन नसक्ने अवस्था आएपछि धनकुटामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने देखिएको छ । ‘हामी जसरी पनि गठबन्धनलाई जोगाएर लैजाने पक्षमा छौं’ नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई भन्छन्, ‘मिलेर जाँदा नै सबै मिलेर जानुपर्छ । अन्तिम समयसम्म प्रयास जारी रहने छ ।’
धनकुटा नेकपा एमालेको बलियो पकट रहेका कारण पनि २०७८ चैत ७ गते सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले एक भएर जाने घोषणा गरे । तर, एक महिनाको अवधीमै सबै तितिरवितिर भएका छन् । कांग्रेसभित्रको आन्तरिक किचलो मिलाउन सकस परिरहेका बेला अन्य दलहरुले धेरै सिट माग्दा पनि गठबन्धन धरापमा परेको छ ।
गठबन्धन धरापमा परेको सुइको पाएपछि नेकपा एमाले निक्कै उत्साहित बनेको छ । गठबन्धन कायम रहँदा कम्तीमा ३ वटा पालिका सजिलै गुम्छ भन्ने मनस्थितीमा रहेको एमालेका लागि गठबन्धनबीचको किचलो चाँही फेरि जिल्लालाई ‘क्लीन स्वीप’ पार्न सक्ने बलियो आधार बन्दै गएको छ ।
केन्द्रिय राजनीतिबाट सधैं दूर
धनकुटा यस्तो जिल्ला हो, जहाँ राणाकालीन गौडा थियो । धनकुटाकै ३ जना त प्रधानमन्त्री नै बने । संघीयता आउनुअघि र प्रदेश बन्नुअघिसम्म धनकुटा सधैं राजनीतिक केन्द्र बिन्दुमा रह्यो । तर, सूर्यबहादुर थापाको मृत्युपछि सेलाउन थालेको धनकुटाको राजनीति अझैं तात्न सकेको छैन ।
अहिले धनकुटाका नेताहरुले धनकुटाले केन्द्रिय राजनीतिको ध्यान तानेको बताइरहेका छन् । तर, यथार्थमा धनकुटा केन्द्रिय राजनीतिभन्दा विल्कुल टाढा भइसकेको छ । अर्थात् यहाँको राजनीतिले केन्द्रलाई खासै असर पार्न सक्ने देखिएको छैन । उदाहरणका लागि धनकुटामा प्रदेश राजधानी बनाउने प्रयास स्वरुप गरिएको आन्दोलनलाई हेरे पुग्छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सात वटै स्थानीय तहमा प्रमुख र उप्रमुख पद जितेर ‘क्लीन स्वीप’ गर्दा थोरबहुत केन्द्रको राजनीतिमा धनकुटाले केही न केही प्रभाव पार्छ भनेर आँकलन गरिएको थियो । त्यो बेला नेकपा एमालेका अध्यक्ष केपी शर्माा ओलीले धनकुटामा आएर राजेन्द्र राईलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गर्दा राईलाई संघीय मन्त्री बनाउँछन् भनेर धनकुटा ढुक्क थियो । तर, ओलीले राईलाई ‘म्यान अफ द इलेक्सन’ को ललिपप दिएरै टाटो मारे ।
अहिले पनि धनकुटा नेतै नेताको जिल्ला हो । धनकुटामा नेपाली कांग्रेसबाट सुनीलबहादुर थापा, नेकपा एमालेबाट राजेन्द्र राई, सकुन्तला बस्नेत, नेकपा माओवादी केन्द्रबाट हेमराज भण्डारी र धनमाया विक, जनता समाजवादीबाट रकम चेम्जोङ, नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, धर्मराज पौडेल र बंगला राई, राप्रपाबाट पवित्रा श्रेष्ठ र हरिप्रसाद घिमिरे केन्द्रिय राजनीतिमा छन् ।
तर, अधिकांस नेताहरुको राष्ट्रिय राजनीतिकमा पहुँच कम छ । अहिलेको स्थानीय तहको निर्वाचनमा पनि यी नेताहरुको जिल्लामा खासै प्रभाव देखिएको छैन । धनकुटामा राजेन्द्र राईले पहिलेको शाख जोगाउन कम्मर कसेर लागेका छन् । माओवादीका हेमराज भण्डारी, एकीकृत समाजवादीका धर्मराज पौडेल गठबनधनभित्र आफ्नो पकड बलियो बनाउन लागेका छन् । कांग्रेसका सुनीलबहादुर थापाले यो निर्वाचनमा कांग्रेसको अभियानहरुमा सक्रिय बने पनि उम्मेदवार चयन प्रक्रियामा मौन छन् । रकम चेम्जोङ शुक्रबार मात्रै धनकुटा आइपुगेका छन् ।
एमाले बाहेकका राजनीतिक दलहरुका नेताहरुको पहल, नेतृत्वदायी भुमिकाको अभाव र एमालेका नेताहरुको सक्रियतालाई हेर्दा यो पटक पनि धनकुटामा नेकपा एमालेसामू गठबन्धन दलहरुको प्रभाव फितलो हुने देखिएको छ ।
प्रतिकृया दिनुहोस