कांग्रेस चितवनका सभापति खनाललाई देउवा भने, आफ्नो निर्णय तुरुन्तै सच्याउनुस्
काठमाडौं । सबै महानगरपालिकाको प्रमुख पदमा कांग्रेसले आफ्नो दाबी नछोड्दा चुनावी तालमेल गर्न समस्या हुने भएपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय नेता कार्यकर्तासँग परामर्श गरेका हुन् । प्रधानमन्त्री देउवाले विवाद भइरहेका जिल्लाका नेतालाई काठमाडौं बोलाएका थिए ।
मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताए ।
देउवाले बोलाएपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सोमबारै काठमाडौं आएका थिए भने पोखरा महानगरपालिकाको विषयमा छलफल गर्न कास्की जिल्ला सभापति किशोरदत्त बरालसहित नेताहरु समेत काठमाडौं आएका छन् ।
चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको छ । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई जानकारी गराएका थिए ।
०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो । कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर भएकी थिइन् । बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगर र उपमहानगरको सिट बाँडफाँडमा समस्या भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित प्रदेश र जिल्लाका नेताहरूसँग छलफल गरेका छन् । गठबन्धन दलले सोमबार दिनभर छलफल गरेर पनि महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट टुंग्याउन सकेका छैनन् ।
प्रतिकृया दिनुहोस