पोखरा महानगरको विषयमा विवाद हुँदा गठबन्धनमा सहमति भएन, भोली टुंगिने
काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको भागबण्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्न पुगेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।
अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफलमा छन् ।
तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । नेताहरूले त्यही मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेका छन् भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ ।
गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दाबी गरेपछि त्यसबारे कुनै सहमति हुन सकेको थिएन ।
प्रतिकृया दिनुहोस