तालमेलको मापदण्ड बनाउन सत्ता गठबन्धनको बैठक आज ४ बजे बस्दै
काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन ।
त्यसका लागि मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिएका छन् । उनले भने, 'गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ ।'
गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
गठबन्धनले तालमेलको खाका बनाउन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको चुनावी संयन्त्र समेत बनाएको छ । यो समितिले तल्लो तहको सिफारिसको आधारमा उम्मेदवार टुंग्याउने बताइएको छ।
गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि मंगलबार तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्र समेत बनाएको छ। तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ ।
अपीलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर छ ।
प्रतिकृया दिनुहोस