अबको क्याबिनेटले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने शीर्ष नेताहरुबीच सहमति
काठमाडौं । स्थानीय तहको निर्वाचन घोषणामा आलटाल गरिरहेको आरोप लागिरहेका बेला सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ ।
निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्नेछ ।
आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । चुनावको सन्दर्भमा यसअघि नै गठबन्धनमा पनि सहमति भइसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन समयमै हुने बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी ओली र सत्ताघटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारले समयमै स्थानीय तहको निर्वाचन गर्न चोहेको भन्दै त्यसका लागि आवश्यक गर्न आग्रह गरेका थिए ।
समसामयिक राजनीतिक विषयमा देउवा, ओली र दाहालबीच आइतबार करिब दुई घण्टा छलफल भएको छ । सरकारले यसअघि नै स्थानीय तहको चुनाव आगामी जेठ ४ गते गर्नका लागि निर्वाचन आयोगसँग परामर्श गरी समझदारी समेत बनाइसकेको छ । आयोगसँगको छलफलमा प्रधानमन्त्री देउवाले सोही मितिमा निर्वाचन हुने भन्दै तयारी अघि बढाउन आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस