३९२ बालबालिकामा कडा कुपोषण
झापा । जिल्लाका करिब ४ चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ ।
जिल्लाका ५ स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १ सय ७९ बालक र २ सय १३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । झापाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिकाका ३० स्वास्थ्य संस्थामा १ सय भन्दा बढी पटक गरिएको कुपोषित बालबालिका पहिचान शिविरबाट ३ सय ९२ कुपोषित बालबालिका फेला परेको हो ।
“कडा पोषणको शिकार भएको बालबालिकामा झापा तेस्रो स्थानमा रहेको छ”, अधिकृत पौडेलले भने, “पहिलोमा सप्तरी र दोस्रोमा सिरहा छन् ।” गत साउनमा बाढी आउनुअघि झापामा १२ प्रतिशत बालबालिका कुपोषणको शिकार भए पनि त्यसयता २१ प्रतिशत वृद्धि भई ३३ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रतिशतभन्दा बढी हुनु भनेको खतरा हो । कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न झापामा ओटिसी सेन्टर स्थापना गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा १६ केन्द्र स्थापना गरिएको जिल्ला कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले कुपोषणको शिकार भएका बालबालिकाको अवस्थानुसार ४२–९० दिनसम्म निदान विधिबाट उपचार गरिने बताए । हालसम्म १४७ बालबालिकाको उपचार गरिसकिएको छ भने २४५ जनाको उपचार भइरहेको छ । कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना खुवाइने छ ।
केन्द्र सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालीमसमेत प्रदान गरिएको छ । तालीमप्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्नेछन् । केन्द्रमा उपचार सम्भव नभए मेची अञ्चल अस्पताल र दमक अस्पताल दमकमा सिफारिस गरिने बताइएको छ । सो कार्यक्रम जनस्वास्थ्य झापाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालित छ ।
प्रतिकृया दिनुहोस