कांग्रेस महामन्त्री गगन थापा भन्छन्, ०८४ को निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्छ

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ सालमा हुने सबैै तहका निर्वाचन अघि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको बताएका हुन् ।
उनले २०८४ मा हुने निर्वाचन अगावै संविधान संशोधनका लागि सबै दलहरुसँग छलफल भइरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानभित्र थुप्रै प्रबन्धहरु रहे पनि तीमध्ये कतिलाई संशोधन गर्नु आवश्यक रहेको उनको भनाई छ ।
महामन्त्री थापाले पछिल्लो समयमा नेपाली नागरिकमा असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । असन्तुष्टिलाई निराशामा परिणत हुन दिन नहुने बताउँदै थापाले त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी पनि कांग्रेस कै काँधमा आएको बताए । नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठूल्ठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
महामन्त्री थापाले २०८४ सालमा हुने निर्वाचन एक्लाएक्लै प्रतिष्पर्धा हुने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन पनि दिएका छन् । थापाले अहिले सरकारमा नेकपा एमालेसँग भए पनि २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठनबन्धन नगर्ने बताए । महामन्त्री थापाले आगामी निर्वाचनमा एक्लाएक्लै भाग लिनुपर्नै भएकाले अहिलेदेखि नै निर्वाचनका आधारभुत तयारी गर्न निर्देशन दिए ।
उनले आन्तरिक गुटका कारण भातृ संगठनको अधिवेशन हुन नसकेको बताए । उनले केन्द्रको अधिवेशनन भए पनि जिल्लाको गर्न छलफल गर्नुपर्ने बेला आएको बताए । उनले २०८३ को मंसिर भन्दाएकदिन पछाडि पार्टीको महाअधिवेशन कसैले सार्न नसक्ने बताए । यसका लागि क्रियाशिल सदस्यता टुंग्याउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश सहममन्त्री खड्ग फागो, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, युवा नेता शंकर तिवारी, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, सहसचिव गिरिजा दाहाल लगायतले पार्टीमा गुट बलियो भएको भन्दै गुटभन्दा पार्टी बलियो बनाउनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस