प्रदेश ६ को मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैको दाबी
मुख्यमन्त्री र सभामुखको बाँडफाँट टुंग्याउन वाम कार्यदलको बैठक
काठमाडौं । ६ मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ ।
कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । शुक्रवार साँझ ओली निवास बालकोटमा कार्यदलको बि्रफिङ सुनेपछि गोप्य वार्ता गर्ने भन्दै ओली र प्रचण्ड बालकोटबाट अन्यत्रै गएका थिए ।
कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । यसमा छलफल हुन बाँकी रहेको नेम्वाङले बताए ।
एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ । कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टंुग्याउन सकस परेको छ ।
माओवादीले प्रदेश नम्बर ६ आफ्नो आधार क्षेत्र भएको र सातैवटा प्रदेशसभामध्ये सबैभन्दा बढी ३३ प्रतिशत जितेकाले सो प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएको छ । तर एमालेले सो प्रदेशको प्रदेशसभामा एमाले एक्लै ५० प्रतिशत रहेकाले बहुमत भएको दलले मुख्यमन्त्री पाउनु ठीक हुने बताएको छ ।
प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत रहेकाले माओवादीले मुख्यमन्त्री दाबी गरेको छैन । त्यस्तै प्रदेश नम्बर ५ मा चुनावअघि नै एमालेका शंकर पोखरेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेकाले माओवादीको दावी छैन ।
प्रदेश नम्बर ४ मा एमालेका दुई बरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ प्रतिस्पर्धामा रहँदा मुख्यमन्त्री बन्ने सिनियर नेता माओवादीका नभएकाले पनि दावी गरेको छैन । प्रदेश ६ र ७ मा माओवादीको दाबी छ ।
वामपन्थी बहुमत रहेका ६ वटा प्रदेशमध्ये एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री पाउँदा ६०/४० को अवधारणाअनुसार हुने माओवादी नेताहरुको दावी छ । त्यसो हुँदा ३ प्रदेशको सभामुख लिन माओवादी राजी हुने देखिएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषदमा पनि ६०/४० को अनुपातमा दुवै दलको प्रतिनिधित्व हुनुपर्ने माओवादीको प्रस्ताव छ । यी सबै विषयमा छलफल गरेर सहमतिमा टुंगो लगाइने कार्यदलका संयोजक नेम्वाङले बताए ।
वाम कार्यदलको बैठक आइतबार बिहान ११ बजे एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने तयारी भइरहेको छ । अनलाइन खवरबाट
प्रतिकृया दिनुहोस