सरकार गठनमा ढिलाइ भएपछि ओली स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाँदै
काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन जाने भएका छन् । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।
मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ । चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् ।
उनले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए । ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस