वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर
‘काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि निर्णय गर्न मिल्दैन, त्यो आफूहरुलाई स्वीकार्य हुँदैन ।'
काठमाडौँ । वाम गठबन्धनले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी एकता केन्द्रीय संयोजन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट रुपमा जनादेश प्राप्त भइसकेकाले अनावश्यक रुपमा राजनीतिक नियुक्ति, सरुवा, बढुवा नगर्न सरकारलाई सचेत गराएको हो ।
विशेषगरी सरकारले प्रदेश प्रमुखको नियुक्तिको तयारी गरेपछि गठबन्धनका तर्फबाट यस्तो धारणा सार्वजनिक भएको हो । पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले एकै स्वरमा भने, ‘काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि निर्णय गर्न मिल्दैन, त्यो आफूहरुलाई स्वीकार्य हुँदैन ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नयाँ जनादेश आइसकेपछि जनताको अभिमत प्राप्त दललाई सरकार हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरेर जनादेशको अपमान गर्न खोजिएको त होइन भन्ने आभाष भएको बताए ।
अध्यक्ष ओलीले भने, ‘काम चलाउ सरकारले दूरगामी महत्वका निर्णय गर्न संवैधानिक, राजनीतिक र नैतिक रुपमा पनि मिल्दैन ।’ अध्यक्ष ओलीले निर्वाचन परिणामपछि राष्ट्रियसभा गठन नभई राजीनामा दिन्न भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाकोे भनाइ गलत रहेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री ओलीले सरकारले दलहरुसँग छलफल नै नगरी राष्ट्रियसभा गठन गर्नेसम्बन्धी अध्ययदेश राष्ट्रपतिसमक्ष पेश गरेको उल्लेख गर्दै भने, ‘सरकारले छलफल नै नगरी अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको छ, प्रधानमन्त्रीको कुर्चीमा बसेर राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साउनु हुँदैन, जुन संविधानको भावना विपरीत छ ।’
उनले दलहरुबीच पराशर्म नै नगरी निर्वाचनको अवधिमा निर्वाचन प्रणाली बदल्ने लगायतको काम गरेको भन्दै थप्नुभयो, ‘खेल शुरु भइसकेपछि नियम परिर्वतन हुदैन ।’ सरकार बनेपछि राष्ट्रियसभा गठन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभाले सरकार गठन गरेपछि राष्ट्रियसभा गठन गर्ने संवैधानिक व्यवस्था रहेको बताए।
राष्ट्रियसभामा महिलाको प्रतिनिधित्व कम हुन्छ भनेर गरिएको प्रचारसमेत भ्रमपूर्ण रहेको स्पष्ट पार्दै उनले न्यूनतम पनि ३७ प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व हुने तथ्यांक पेश गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुलाई प्रधानमन्त्री को बन्नेभन्दा पनि प्रमुख ध्यान राजनीति स्थायित्व, सुशासन र विकास निर्माण तथा आर्थिक समृद्धि नै रहेको स्पष्ट पारे । उनले भने, ‘हामीलाई त्यसको लोभ छैन । फेरि हामी सजिलै प्रधानमन्त्री छाडेका मानिस पनि हौँ । हाम्रो चिन्ता र चासो समृद्धि र राजनीतिक स्थायित्व हो ।’
अध्यक्ष दाहालले राष्ट्रियसभा गठनका बारेमा सरकारका तर्फबाट भएको अलमलका बारेमा शनिबार आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीसँग कुरा हुँदा राष्ट्रिय सभाका बारेमा पनि कुरा भएको थियो । संविधानले एकल संक्रमणीय भन्ने व्यवस्था गरेको छैन । पार्टीहरुका बीचमा छिटोभन्दा छिटो सहमति गरेर जानुपर्छ भनेर मैले प्रधानमन्त्रीको ध्यानकर्षण गरेको थिएँ ।’
संविधानले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन गर्न प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मात्र होइन, गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार फरक फरक गर्ने कुरा गरेको भन्दै अनावश्यक विवाद नगर्न प्रधानमन्त्रीलाई सचेत गराएको बताए ।
राजनीतिक दलहरुका बीचमा समझदारी नबनाई गम्भीर र राष्ट्रिय रुपमा प्रभाव पार्ने प्रदेश प्रमुखको नियुक्ति नगर्नसमेत आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ थियो ।
निर्वाचन सम्पन्न गराएर सरकारको राम्रो काम गरेको भन्ने सन्देश जनताका बीचमा गएको बेला एकाध नियुक्तिले विवादमा पर्ने काम नगर्नसमेत प्रधानमन्त्रीलाई सचेत गराएको उनको छ ।
अध्यक्ष दाहालले भने, ‘प्रमुख दलहरुबीच सझादारी बनाएर जान्छु भनेर प्रधानमन्त्रीले विश्वास दिलाएको छ । तर अवस्था भने त्यतातिर देखिँदैन । म फेरि पनि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु कि उहाँले निर्वाचन गराएर राम्रो काम गर्नुभएको छ । अब एक–दुईवटा नियुक्तिमा लोभ गरेर सबै जस–अपजसमा लैजान हुन्न ।’
निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्ने वामपन्थी दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्य तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक राजनीतिक दल, उम्मेदवार र प्रचारकलाई धन्यवाद ज्ञापन गरेको छ । निर्वाचित जनप्रतिनिधिलाई गठबन्धनले बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएको छ ।
त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासका आधारमा विभिन्न पार्टी एवं उम्मेदवारको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सबलीकरणमा योगदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । निर्वाचन सफल गराएकामा निर्वाचन आयोग, सरकार, सुरक्षाकर्मी सबैलाई बधाई ज्ञापन गरेको छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायित्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सबल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतिका रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता, एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यावहारिक रुपमा सार्थक तुल्याउन प्रतिबद्ध छौँ ।’
गठबन्धनले नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुसरण गर्दै सबै मित्रराष्ट्र, विशेषतः छिमेकी देशहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ ।
राष्ट्रिय आवश्यकता र जनताको चाहनाबमोजिम पार्टी एकता गर्ने घोषणा गरेको स्पष्ट पार्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा ‘वामपन्थी शक्तिको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न र जनचाहना अनुसारको उद्देश्य हासिल गर्न प्रतिबद्ध छौँ । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणापत्र तथा स्थानीय प्रतिबद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पबद्ध छौँ’ भनिएको छ ।
गठबन्धनले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गरेको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस