भरतपुरका २ वडाध्यक्षको शपथ रोक
चितवन, । भरतपुर महानगरपालिका– ४ र ७ का २ वडाध्यक्ष बाहेक अन्यलाई आज अपराह्न शपथ गराइने भएको छ ।
गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आज अपराह्न ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताए ।
निर्वाचित १ सय ४७ जनामध्ये आइतबार १ सय ४५ जनाले शपथ लिनेछन् । २ वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका थिए ।
त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएको थियो ।
सोको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आजका लागि रोकिएको हो ।
ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।
भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ हुन लागेको हो ।
प्रतिकृया दिनुहोस