राष्ट्रपति पौडेलको रामकहानी : १७ पटकको प्रयासमा बालुवाटारमा नअटाएका पौडेल पहिलो प्रयासमै पुगे शितल निवास
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
संघीय संसद्मा बिहीबार भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका हुन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपतिमा निर्वाचित भए ।
बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
राष्ट्रपतिका आकाङ्क्षीहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मालाई पन्छाएर पौडेल उम्मेदवार बनेका थिए । पार्टीले आधिकारिक रूपमा पौडेललाई अघि सारेसँगै नेताहरू एक ढिक्का भएर चुनावी अभियानमा होमिएका थिए । पछिल्लो समय देउवासँग सहकार्य गरेकै कारण पौडेल राष्ट्रपति बन्ने बाटो खुलेको थियो । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसेपछि राष्ट्रपतिमा पौडेलको चर्चा चुलिएको थियो । देउवाले राष्ट्रपतिको उम्मेदवार बनाउने बचन दिएपछि पौडेल प्रस्तावक बसेको कांग्रेस वृत्तमा चर्चा थियो । तर, पुस १० गते दिउँसो १२ बजे चुनावअघिको गठबन्धनबाट माओवादी बाहिरिएपछि पौडेल छाँगाबाट खसेजस्तै अवस्था देखिन्थे ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमोर्चा, नेसपा र आम जनता पार्टी पौडेललाई खुलेर समर्थन गरेका थिए । बिहीबार मतदानअघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पनि पौडेलको पक्षमा उभियो । र, पोडेल राष्ट्रपतिमा विजयी भए ।
यस्तो छ रामचन्द्रको रामकहानी
२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका हुन् । सवितासँग विवाह गरेका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) तथा एक छोरा (चिन्तन पौडेल) छन् । व्यास नगरपालिका–८ बेलथुम्कीका स्थायी बासिन्दा पौडेल हाल काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्छन् ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । पौडेल २०१५ सालदेखि विद्यार्थी सङ्गठनको राजनीतिमा जोडिए । २०१५ देखि ०२४ को समयमा उनी नन्दीरात्री माविको विद्यार्थी सङ्घको अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बने ।
यो बीचमा पौडेललाई २०१७ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको महासचिव र २०२३ गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष बन्ने अवसर पनि मिल्यो । सोही समयमा सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव बने ।
२०२७ सालमा नेपाल विद्यार्थी सङ्घ ९नेविसंघ० गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी सङ्घको संस्थापक सदस्य पनि भए । १९ वर्षको विद्यार्थी राजनीतिपछि मात्र जिल्ला तहबाट पार्टी राजनीतिमा पौडेलको प्रवेश भएको थियो । २०३४ नेपाली कांग्रेस तनहुँको सदस्य भएका उनी ०३६ मा जिल्ला उपसभापति भएका हुन् ।
पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखका रूपमा २०४० सालमा पौडेल पार्टी केन्द्रीय राजनीतिमा आए । २०४३ मा कांग्रेस केन्द्रीय सदस्य बनेका उनी ९२०६२–०६४० दुई वर्ष पार्टीको महामन्त्री भए । त्यसपछि उनी ०७२ सम्म पार्टी उपसभापतिको जिम्मेवारी रहे । सोही समयमा पौडेल कांग्रेस संसदीय दलको नेता पनि थिए । ०७२ सालमा भएको पार्टीको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहे ।
गत वर्षसम्म १४ औँ महाधिवेशनमा प्रतिस्पर्धाबाट ‘रिङआट’ भए पनि वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै भयो । १४ औँ महाधिवेशनमा आफ्नो गुट छिन्नभिन्न हुने देखेपछि उनी अन्तिम समयमा मौन बसेको विषयले काङ्ग्रेसभित्र तरङ्ग समेत उत्पन्न भएको थियो । जसको परिणामस्वरूप देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज बनेको थियो ।
६३ वर्ष लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताए । २०१८ देखि २०६२ सम्म विभिन्न अवधिमा गरी १५ वर्ष जेलमा उनको बन्दी जीवन व्यतीत भयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।
पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख बने ।
०५६ सालमा तनहुँ–२ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भएका पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए ।
०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पौडेल तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।
आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए भने पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी शृङ्खलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । त्यसपछि खनालले प्रधानमन्त्रीमा बाजी गर्दा पौडेलको हातमा लाग्यो असफलता ।
०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँपटक निर्वाचित भएका पौडेलले ०७४ को आम निर्वाचनमा तनहुँ – १ मा हार चाखे । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पौडेलले तनहुँ–१ बाट संसदीय निर्वाचनमा छैटौँ जित दर्ता गरे । लामो र अथक राजनीतिक सक्रियता पौडेलको प्रमुख पुँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक सङ्घर्षहरूमा संलग्न पौडेलले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेको देखिन्छ ।
२०१७ साल पुस एकको शाही ‘कु’ सँगै राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल कोचे । रेवतीलाई २०१७ साल फागुन १५ गते दरबारको जनसम्पर्क अधिकृत नियुक्त गरियो । मदन पुरस्कार विजेतका रेवतीका नेपाली कानूनी इतिहासको रुपरेखा, अनुभूति र अभिव्यक्ति भन्ने आत्मकथासहितका पुस्तकहरु प्रकाशित छन् ।
प्रतिकृया दिनुहोस