योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

Yemale bina

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विना मगरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उनीहरूले २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यसैगरी, मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोध्नुपरेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड (ण) मा “निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने” व्यवस्था छ ।

आयोगले दुवै उम्मेदवारलाई २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न पनि भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...