आजदेखि नेपाली कांग्रेसको चुनावी अभियान शुरु हुँदै, सभापति देउवाले उद्घाटन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी कांग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको गरेको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्ने तयारी छ । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको तयारी छ ।
अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । स्थानीय घोषणापत्र जारी गर्ने योजनाअनुरूप स्थानीय घोषणापत्र निर्माण समिति गठन गरेर काम सुरु गरिने छ ।
अभियानका दौरान ‘घोषणापत्र निर्माण संवाद’ तथा जनतासँग ‘विकास संवाद’ गरी जनअपेक्षा र आवश्यकताअनुरूपको बाटो, कल्भर्ट, कजवे, तटबन्ध वा अन्य कुनै पनि स्थानीय विकासका विषयमा स्थलगत रूपमै संवाद गर्नेछ । साथै मतदाताको दृष्टिकोण, भावना र सुझाव सङ्कलन तथा काँग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्छन्’ भनेर नागरिक पङ्क्तिबाटै सुझाव लिनेछ ।
फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्नेछ ।सो अभियानका क्रममा कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महìवपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्नेछ ।
नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आठवटा मुद्दामा अभियान केन्द्रित गरिने बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको छ ।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उद्देश्यका साथ एक महिने अभियान सञ्चालन हुने उनले बताए ।
प्रतिकृया दिनुहोस