जीवन शर्माको चेतनामुलक दसैं गीत : यसपाली त यस्तै भो आमा, अर्को साल आउनेछु दसैँमा ...’
(जसको ब्यथा, उसकै अभिनय : जीवन्त अभिनय सहितको भिडियो)
नेपालीको महान पर्व दसैँ पर्व दशै नजिकिँदै गइरहेको छ । तर यसपाली परिस्थिति झनै बिकराल बनेर आएको छ । खुसीयालीको पर्व दसैँ आए पनि मनमा खुसी भने हुन सकेको छैन । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । विदेशमा पनि सयौँ नेपालीले कोरोनाबाट ज्यान गुमाएका छन् ।
महामारीको समयमा पनि नेपालीको महान पर्व दसैँमा परिस्थितिले लाखौँ नेपालीले घर फर्किन पाएका छैनन् । आफ्ना माता पिता र गाउँका पाका पुराना बृद्धजनको हातबाट टीका ग्रहण गर्ने, साथीसँगीसँग मिलेर चर्खे, रोटे, र लठ्ठे पिङ खेल्ने, मीठामीठा परिकारहरु खाने, आफन्तजनसँग रमाइलो भेटघाट गर्ने समय जुरेको छैन ।
रोजीरोटीका लागि संसारका विभिन्न देशमा पुगेका मात्र होइन, देशकै अन्यत्र भागमा रहेका नेपाली दाजु भाइ, दिदी बहिनीहरु दसैँको टीका थाप्न सहज रुपमा आफ्नो गाउँघर जान सक्ने अवस्था अहिले छैन ।
यहीँ कारणले गर्दा कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरु चाहेरै पनि यसपाली दसैँमा गाउँघर जान सक्ने अवस्था छैन । यस्तो रमाइलो र महान पर्व दसैँका बेलामा आफ्नो प्यारो गाउँ पुग्ने रहर कसलाई हुँदैन र ? जसलाई पनि हुने गर्छ । तर धेरै नेपालीहरु मुटु पिरो पारी यसपटक भन्न बाध्य छन्, ‘यसपाली त यस्तै भो आमा, अर्को साल आउनेछु दसैँमा ।’
परदेशतिर रहेका नेपालीको अवस्था यो बेला झनै दयनीय बनेको छ । कोरोनाको कहरले रोजगारी खोसिएको छ । बिरानो मुलुक, चिनारु कोही छैन । वर्षौदेखि उनीहरु आफ्नो प्यारो मातृभूमि आउन पाएका छैनन् । दसैँका बेला आफ्ना बृद्ध आमाबाबाको हातबाट टीका थापेर आर्शिवाद लिन पाएका छैनन् ।
दसैँका बेलामा पनि आफ्नो गाउँघर आउन नपाएका तिनै परदेशी नेपालीको मार्मिक बेदना समेटिएको गित हो ‘यसपाली त यस्तै भो आमा, अर्को साल आउनेछु दसैँमा ।’
जनगायक जीवन शर्माले आजभन्दा दुई दशक अगाडि रचना गरेको यो गीतको अडियो प्रत्येक वर्ष दसैँ नजिकिँदै गएसँगै धेरै सञ्चार माध्यममा घन्कने गर्दछ । यसपटक भने उक्त मर्मस्पर्शी गीत भिडियोसहित आएको छ ।
जनगायक जीवन शर्माको आफ्नै युट्युब च्यानलबाट २०७७ असोज २ गते सार्वजनिक गरिएको उक्त भिडियोभित्र विदेशमा बस्ने नेपालीहरु र नेपालमा बस्नेहरुले नै प्रत्यक्षरुपमा अभिनय गरेका छन् । गीतमा दसैँका बेला घर आउन नपाएका परदेशी नेपालीहरुको मनको भावनालाई टपक्क टिपेर राखिएको छ ।
हो दसैँको बेला परदेश गएको छोरो कति बेला आउला भनेर आमा बाटा भरी आँखा बिछ्याएर बसेकी हुन्छिन् । दहीमा टीका मुच्दासमेत आमाले त्यहीँ परदेशी छोरालाई सम्झिरहेकी हुन्छिन् । आमाका आँखाबाट अनायासै आँशुका ढिक्काहरु तप्किन थाल्छन् । उता छोराको अवस्था पनि उस्तै कारुणीक हुन्छ ।
यस्तो रमाइलो पर्व दसैँको बेलामा अर्काको बिरानो देशमा रगत र पसिना बगाएर बसिरहने रहर त कसलाई हुन्छ र ? तर पनि लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीहरु परदेशी भूमिमा त्यसरी बस्न बाध्य छन् ।
नेपाली चाडपर्व विदेशको मालिकलाई के मतलब हुन्थ्यो र ? उसले ती परदेशी नेपालीको मर्म बुझ्दैन । बिचरा ती परदेशीको ज्यान त विदेशमा हुन्छ तर मन भने आफ्नै गाउँघर तिर डुलिरहेको हुन्छ । उनीहरुको नयन अगाडि बृद्ध आमाबाबाको तस्बिर नाच्न थाल्छ ।
झलझली सम्झना आउँछ आफ्ना जहान लालाबालाहरुको । गाउँघर, ती सङ्गीसाथी, आफन्तजन ती सबैको सम्झनाले मन भक्कानिएर आउँछ । उनीहरुका आँखाबाट पनि अनायासै आँसु बर्षिन थाल्छ । तर त्यो बिरानो ठाउँमा त्यो आँसुको मूल्य बुझिदिने कस्ले ?
आफ्नो आँसु आफै पिउँदै विदेशको गल्ली गल्ली डुल्न बाध्य छन् उनीहरु । हाँस्ने खेल्ने कलिलो बैशको यो दिनमा विदेशका गल्ली, मरुभूमि, क्याम्प, कलकारखाना र होटलहरुमा मुटु मिची बस्न बाध्य छन् उनीहरु ।
अरबका खाडीहरुमा पचास पचपन्न डिग्रीको तातो रापमा काम गर्न बाध्य छन उनीहरु । मालिकको हप्की दप्की खेप्दै निरन्तर डिउटी निभाइरहेका छन उनीहरुले । दिनरात उनीहरुले आफ्नो गाउँघर, प्रिय सङ्गी साथी, जहान लालाबाला सम्झिरहेका हुन्छन् ।
घरगाउँको सम्झनामा आफै रुने आफै सम्हालिने गर्न बिवश छन् उनीहरु । आखिर सुख दुख यस्तै त रहेछ नि जिन्दगी भनेर आफ्नो मन बुझाइरहेका छन उनीहरुले ।
यो कुनै काल्पनिक कुरा होइन लाखौँ परदेशी नेपालीहरुले भोगिरहेको यथार्थ पीडा हो यो । जनगायक शर्माले परदेशी नेपालीहरुको त्यहीँ यथार्थ पीडालाई टपक्क टिपेर राखेका छन् यो गीतमा ।
तिरी कहिल्यै नतिरिने सामन्तको रिन
जति काम गरे पनि हामी गरिब किन
फर्की म त आउँदैछु छिट्टै
गाउँका साथी लिएर साथैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दसैँमा ...।
जसको ब्यथा, उसकै अभिनय
यसपाली त यस्तै भो आमाू गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । यसमा कुनै बनावटी र कृत्रिम पात्र छैनन् । जसको पीडा र ब्याथा गीतका शब्दहरुले बोकेका छन्, तिनै प्रवासी श्रमजीवी नेपालीको अभिनय यसमा देख्न सकिन्छ ।
कलाकारहरुले गीतको भावलाई हुबहु रुपमा उतारेका छन्् आफ्नो अभिनय र नृत्यमा । रोजगारीका लागि संसारका विभिन्न देशमा छरिएर रहेका रक्तिमका पाका पुराना कलाकारकै अभिनय यसमा समाबिष्ट छ ।
देशभित्र रहँदा रक्तिम सांस्कृतिक अभियानमा रहेर लामो समयसम्म क्रियासिल रहेका ती कलाकार, जो अहिले रोजगारीको लागि जापानका विभिन्न शहरहरुका होटल तथा रेस्टुरेन्टहरुमा पुगेर मजदुरी गरिरहेका छन् । कोही दक्षिण कोरियाका कलकारखानामा त कोही भारतका गल्ली गल्लीमा कामको खोजिमा भौतारिइरहेका छन् ।
कोही कलाकार साथीहरु अरबको तातो बालुवामा पसिना बगाइरहेका छन् । कोही फ्रान्सको सेनामा रहेर युद्धमा लडिरहेका छन् । ती कलाकारहरु अहिले जो जहाँ रोजगाररत रहेका छन्, उनीहरुले त्यहीँ आफूले काम गरिरहेकै ठाउँबाट गीतमा अभिनय गरेर भिडियो फुटेजहरु पठाएका छन ।
यसरी विदेशका ठाउँमा प्रत्यक्ष पसिना बगाइरहेका वास्तविक पात्रहरुकै अभिनय यस गीतको म्युजिक भिडियोमा समेटिएको छ । त्यसबाहेक अहिले पनि देशभित्र रहेर जनसांस्कृतिक यात्रामा अहोरात्र खटिरहेका रक्तिम हस्तिहरुको अभिनय पनि यस गीतमा देख्न सकिन्छ ।
नृत्य र अभिनय गरि चार दर्जनभन्दा बढी पुराना र नयाँ रक्तिम कलाकारहरुले यसमा अभिनय गरेका छन् । देश विदेशका विभिन्न स्थानबाट रक्तिम कलाकारहरुले पठाएका ती भिडियो फुटेजहरुको संयोजन जनगायिका निलिमा पुनले गरेकी छन् भने सम्पादन तुलसी बास्कोटाले गरेका छन् ।
म्युजिक भिडियोमा अभिनय गर्ने रक्तिम कलाकारहरुमा सचित्र केसी –जापान), डमर भण्डारी (नवलपुर), मानबहादुर भण्डारी (बाँके), लक्ष्मी रिजाल (कैलाली), सुमन रोका मगर (फ्रान्स), धनबहादुर थापा (बागलुङ), जीवलाल शर्मा (दक्षिण कोरिया), बिमल पाण्डे (बागलुङ), हुमाकान्त आचार्य (कतार) र शरद लामिछाने (बाँके) ले अभिनय गरेका छन् ।
त्यस्तै सूर्य थापा मगर (भारत), प्रकाश बिसी –जापान), मनकाजी गुरुङ (भारत), लिला परियार (जापान), बलदेब राना (कतार), सुजन थापा (पोखरा), अमर बिक (कतार), खडक पुन –जापान), राजु थापा मगर (भारत), गिरि काउछा (कतार), ऋषिराम पौडेल, नेरु आचार्य र कमल बिक –जापान), उमा गुरुङ (कैलाली), गौरिलाल कार्की (बाँके) र चक्र चनारा (कैलाली) ले अभियान गरेका छन् ।
म्युजिक भिडियोमा बागलुङबाट प्रदीप श्रीष, बिनोद पाण्डे, नरबहादुर केसी, मिलन सुनार, सुर्य पौडेल, मदन भुपाल र खगी बिक, कैलालीबाट पबित्रा बडु, कृति पुन र धर्मराज जोशी , भारतबाट शारदा गुरुङ, लक्ष्मी गुरुङ, खगी थापा, मन्जु थापा, गोमा थापा, रुपा कार्की, बिनिता कार्की, सिमा शर्मा, मन्जु शर्मा र रुपा थापा, बाँकेबाट गुणनिधी आचार्य र ईश्वर पाण्डेको अभिनय तथा नृत्य रहेको छ ।
रक्तिमकै कलाकारहरु केशब राना (काठमाडौं), विशाल थापा मगर (रुपन्देही र हरि सर्तुङ्गी (गुल्मी) को नृत्य, बागलुङको प्रथम हाँडिकोट महोत्सवमा प्रदर्शन गरिएका नौमती बाजा टोली र विभिन्न आमा समूहका नृत्यहरु यो गीतको म्युजिक भिडियोमा समेटिएको छ ।
रक्तिमका कुशल नृत्यकार बिमल पाण्डेको कोरियोग्राफिमा रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगर समिति बागलुङका कलाकारहरु र मनकाजी गुरुङको कोरियोग्राफिमा भारत रोपडका रक्तिम कलाकारहरुले निकै सुन्दर नृत्य प्रस्तुत गरेका छन् ।
देश विदेशका विभिन्न स्थानहरुमा जनगायक जीवन शर्माले यो गीत प्रस्तुत गर्दाका भिडियो फुटेजहरु पनि यसमा समावेश गरिएको छ । गीतको म्युजिक भिडियो छायाङ्कन गर्न, जुटाउन र दर्शक श्रोतासम्म ल्याइ पुर्याउदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैको अमूल्य सहयोग रहेको बुझ्न सकिन्छ ।
म्युजिक भिडियो निर्माणमा सीता पुन, कमल बिक, चित्र बिक, ज्ञान थापा, नाम्गेल मोक्तान र रुद्र कार्की, मादल रेष्टुरेन्ट कामता जापान र रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर समिति बागलुङ लगायतले विशेष सहयोग गरेका छन् ।
सबैको एकीकृत प्रयास बाट ‘यसपाली त यस्तै भो आमा’ गीतको एउटा राम्रो म्युजिक भिडियो तयार भएको छ ।
एउटै गीतमा यति धेरै रक्तिम कलाकारहरुले एकै पटक अभिनय गरेको सम्भवतः यो नै पहिलो रक्तिम गीत होला । यस गीतमार्फत जनगायक जीवन शर्माले देश विदेशमा छरिएर रहेका रक्तिम कलाकारलाई एकै ठाउँमा जुटाएका छन् ।
तर अझ धेरै कलाकारलाई यसमा समेट्न नसकिएको जनगायिका निलिमा पुन बताउँछिन् । ‘जसको ब्यथा र कथा गीतका शब्दहरुले बोकेका छन्, तिनैका प्रतिनिधि पात्रलाई बढी भन्दा बढी संख्यामा समेट्ने हाम्रो चाहना हो’ उनले भनिन्, ‘तर कतिपय प्राविधिक र परिस्थितिजन्य कारणहरुले गर्दा हामीले अझ सोचे जति कलाकारलाई यो गीतमा समेट्न सकेनौ ।’
यसरी बन्यो यो गीत ?
‘यसपाली त यस्तै भो आमा’ गीतको सिर्जना जनगायक जीवन शर्माले आज भन्दा २० वर्ष अगाडि अर्थात् २०५८ सालमा गरेका थिए । २०५८ सालमा म्युजिक नेपालबाट प्रकाशित रक्तिमको एल्बम ‘कालिगण्डकी’ भित्र यो गीत समाबिष्ट रहेको छ ।
जनताका गीत संगीत लिएर खाडी मुलुकहरुमा पुगेका बेला त्यहाँ पसिना बगाइरहेका श्रमजीवी प्रवासी नेपालीको मनोभावना बुझेर शर्माले यो गीत लेखेका थिए ।
जनसंगीत यात्राको सिलसिलामा २०५८ सालको दसैँताका हामी युएइ पुगेका थियौँ । रोजगारीको क्रममा युएइ पुगेका श्रमजीवी नेपाली कतिपय छुट्टी पाएर स्वदेश फर्किएका थिए, छुट्टी नपाएकाहरु मनभरी पीडा बोकेर त्यहीँ बसिरहेका थिए ।’
गीत रचनाकालको पृष्ठभूमि सम्झिँदै जनगायक जीवन शर्माले भने, ‘प्रवासी नेपालीहरुको त्यस्तो अवस्था त्यो युएइमा मात्र होइन संसारका अरु विभिन्न देशहरुमा समेत उस्तै थियो । संसारैभरी छरिएर रहेका श्रमजीवी नेपालीको त्यहीँ मनस्थितिप्रति संवेदनशील भएर यो गीतको रचना गरिएको हो ।’
दसैंको सम्मुखमा यो म्युजिक भिडियो ल्याएर निकै राम्रो कार्य गरेका छन् जनगायक जीवन शर्माले । यस्तै जनब्याथा समेटिएका नयाँ नयाँ गीतहरु श्रमजीवी जनताले सुन्न पाइराखुन् ।
जनगायक जीवन शर्माको समग्र जनगीतीयात्राले सफलताको उच्च शिखर चुम्दै जाओस् । जनगायक शर्मा लगायत ‘यसपाली त यस्तै भो आमा’ गीतको म्युजिक भिडियो निर्माणमा योगदान पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ तथा यो गीतको सफलताको हार्दिक शुभकामना ।
(शर्मा रक्तिम सांस्कृतिक अभियानमा आवद्ध कलाकार तथा पत्रकार हुन्)
प्रतिकृया दिनुहोस