म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएके खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे ।
यस्तै रहिम स्टर्लिङले अर्को गोल थपेका थिए । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए ।
सिटीको जितमा जिससले खेलको २२ औं र ५० औं मिनेटमा गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर, ६९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । जितसँगै सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । उपाधि होड कायम राख्ने क्रममा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ ।
एक खेल कम खेलेको लिभरपुलको ४२ अंक छ । सिटीसँग पराजित एभर्टन भने २४ अंक जोडेर आठौं स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले बर्नलेविरुद्ध साँघुरो जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा एरिक्सनले गोल गर्दै टोटनहमलाई महत्वपूर्ण ३ अंक दिलाए ।
यो जितसँगै तेस्रो स्थानको टोटनह्यामले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित बर्नले १२ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा उल्भरह्याम्टनले बर्नमाउथलाई र वेस्टह्याम युनाइटेडले फूलह्यामलाई समान २–० तथा वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् ।
यस्तै न्यूकासलले हडर्सफिल्ड र क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई समान १–० गोलअन्तरले हराएको छ ।
प्रतिकृया दिनुहोस