फेरी पनि अस्थिरता, तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री
'जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने तय'
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् । विवादित भनिएका विषयमा दुबै पार्टीका अध्यक्षहरुबीच कुरा मिलेपछि एकता घोषणाको तयारी भएको बुझिएको छ ।
जनताले वाम गठबन्धनलाई स्थायी सरकारका लागि मतदान गरेका थिए । तर, पार्टी एकता गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तीन वर्षपछि प्रचण्डका लागि प्रधानमन्त्री पद त्याग्न तयार भएका हुन् । प्रचण्डले एकता महाधिबेशनपछि मागेको अध्यक्ष पद दिन नसक्ने भएपछि प्रधानमन्त्री पद दिएर ओलीले पार्टी एकता गर्न प्रचण्डलाई मनाएका हुन् ।
एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने तय भएको जनाइएको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् ।
जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठकमार्फत मिति तोक्ने तयारी छ ।
दुई अध्यक्षबीच २० वैशाखमा भएको लामो छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको हो । त्यस दिन ओली र प्रचण्डबीच दुईपटक छलफल भएको थियो भने एमाले नेता माधवकुमार नेपाल र प्रचण्डबीच पनि छुट्टै कुराकानी भएको थियो । सोही छलफलले तीन वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री पद हस्तानतरण गर्ने लगायतका समझदारी भएको स्रोतले बताएको छ ।
विवादित भनिएको चुनाव चिह्न, विधानको प्रस्तावना र केन्द्रीय कमिटीको संख्यामा दुई अध्यक्षले सहमति गरेका छन् । एकीकृत नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ ।
यस्तै, तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको जनयुद्ध राजनीतिक परिवर्तनका लागि महवपूर्ण परिघटना भएको प्रसंग विधानमा लेख्ने सहमति भएको छ ।
केन्द्रीय कमिटी २९९ सदस्य बनाउने भनिएकोमा अब संख्या ३५१ बनाउने सहमति भएको छ । यसमा एमालेबाट करिब २०० र माओवादीबाट करिब १५० सदस्यले प्रतिनिधित्व गर्नेछन् । नेताहरूले प्रतिशत होइन, योग्यता र अनुभवका आधारमा नेताहरूलाई समेट्ने समझदारी बनाएका छन् ।
एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै अन्तिम केन्द्रीय कमिटी बैठक बोलाउनेछन् । दुवै पार्टीका केन्द्रीय कमिटीले आ–आफ्नो पार्टी विघटन गर्ने र एकअर्कासँग एकीकरण गर्ने औपचारिक निर्णय गर्नेछन् ।
पार्टी एकता संयोजन समितिले तोकेको मितिमा दुवै पार्टीको संयुक्त अधिवेशन आयोजना हुनेछ । सो अधिवेशनले दुवै पार्टी भंग भएको निर्णय अनुमोदन गर्दै नेतृत्वसहित नयाँ पार्टी गठन गर्ने निर्णय गर्नेछ । सोही निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।
प्रतिकृया दिनुहोस