डिपिएल टिम चौराह धनगढी फाइनलमा
धनगढी । खेलको अन्तिम ओभरको ५औँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै २५ लाख पुरस्कारका लागि फाइनलमा स्थान पक्का गरेको हो ।
प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा ग¥यो ।
धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई/दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए ।
उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए ।
पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।बलिङतर्फ धनगढीका लागि कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई/दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक/एक विकेट लिए ।
प्रतिकृया दिनुहोस