विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस् : निर्वाचन आयोग
२६ लाख ६४ हजार ९५० मतदाता, ३७ हजार २३६ उम्मेदवार र दुईहजार भन्दा बढी पर्यवेक्षक
काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् ।
आयोगको मिडिया सेन्टरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाता मतदानका लागि उत्साह र आतुरताकासाथ प्रतीक्षामा रहेको बताए ।
लोकतन्त्रको आधारशीलाका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले आग्रह पनि गरेको छ ।
प्रमुख आयुक्त डा यादवले भने, 'प्रदेश नं २ का मतदाताहरु मतदान गर्न ज्यादै उत्सुक हुनुहुन्छ र निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत प्रदान गर्न सबै मतदातासँग हार्दिक अपिल गर्दछु ।'
तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सोमबार आठ जिल्लाका १३६ स्थानीय तहमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेम्म मतदान हुँदैछ । उक्त निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहनेछन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।
उनले लोकतन्त्रको जगलाई गाउँ, शहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा निष्पक्ष भई आफ्नो बुद्धि, विवेक र संयमताको भरपूर प्रयोग गर्न सबैलाई आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोगको अपेक्षा गरे ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, 'तेस्रो चरणको निर्वाचनमा दलहरूबीचको सौहार्दता प्रसंशनीय देखिएको छ, यो सौहार्दता मतदान गर्न र विजय ¥यालीसम्म पनि कायमै रहने छ भन्नेमा आयोगले आशा एवं विश्वास लिएको छ ।'
हालै आएको भीषण बाढी, डुबान र कटानले यस क्षेत्रका अधिकांश बासिन्दा कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको अवस्थामा हुन लागेको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको सेवालाई नै सर्वोपरि राखेर काम गर्ने पनि आयोगले विश्वास व्यक्त गरेको छ ।
मतदाताको संख्या २६ लाख ६४ हजार ९५०
प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा विभिन्न पदका लागि सोमबार हुने निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् ।
यस निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनको मैदानमा कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा आठजना उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएको छ । नगरप्रमुख तथा अध्यक्षमा एक हजार ७०९ पुरुष र ६१ महिला मात्रै प्रतिस्पर्धामा छन् ।
उपप्रमुख र उपाध्यक्षमा १९७ पुरुष र ९१९ महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा आठ हजार ५२ पुरुष र २२३ महिला उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनुहुन्छ । जुन मतदान केन्द्रको मतदाता नामावलीमा आफ्नो नाम छ, सोही मतदान केन्द्रमा गई आफूले रोजेका सातजना उम्मेदवारको चिह्नमा गोप्य तवरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्न आग्रह गर्दै आयोगले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन अपिल पनि गरेको छ ।
अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्था मिलाउन र सहजढंगले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई निर्देशन दिँदै आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गराउन सुझाव दिएको छ ।
दुईहजार भन्दा बढी पर्यवेक्षक
स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको अटुट सहयोग र सद्भावप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
मतदानको कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरुसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्न आयोगले सबै निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ ।
विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतगणनामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीकोे सहयोगात्मक भूमिका रहनेमा पनि आयोगले विश्वास लिएको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस