मधेशी मोर्चाले काग्रेस सभापति देउवालाई समर्थन नगर्ने
काठमाडौं । संविधान संशोधनको माग गर्दै आन्दोलनरत मधेशी मोर्चा तत्काल यो सरकारमा सहभागी नहुने भएको छ । उनीहरुकै भाषामा यो सरकारमा सहभागी बन्नु भनेको खाली हात सरकारमा जानु हो ।
मोर्चाले विगतका सरकारसँग भएका सहमति पनि कार्यान्वयन नभएकाले अब बन्ने सरकारमा तत्काल सहभागि नबन्ने भएको हो । आफ्ना ३ बुदे माग सम्बोधन भएमा भने सरकारमा सहभागी हुन सक्ने मोर्चाका एक नेताले बताए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफुहरू खाली हात सरकारमा नजाने बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर आफुहरुले गल्ती गरेको बताए ।
उनले भने, ‘हामीले प्रचण्डको सरकार गठनका बेला तीन बुँदे सम्झौता गरेर मतदान ग¥यौं । तर उहाँले हाम्रा माग सम्बोधन गर्न सक्नुभएन’ उनले भने, ‘इमान्दारीता देखाउन सक्नुभएन, फेरि अहिले पनि कांग्रेसले हामीलाई सरकारमा आग्रह गरेका छ । तर, हामी खाली हात सरकारमा जादैनौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई तत्काल विना शर्त समर्थन नगर्ने संकेत गरे । कर्णले भने, ‘हामी अहिले नै देउवाजीलाई समर्थन गर्ने पक्षमा छैनौं, हाम्रा मागहरु पूरा नगरेसम्म हामीले किन समर्थन गर्छौं ?’
उनले देउवा नेतृत्वको सरकारलाई समर्थन नगरे पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने बताए । उनले भने, ‘हामीले निर्वाचनमा जादैनौँ भनेका छैनौ, हामी निर्वाचनमा भाग लिन्छौ । तर हाम्रा न्यूनतम माग पुरा गर्नुपर्छ, सहिद घोषणा, विचार कै आधारमा कार्यकर्ता जेलमा छन्, ती कार्यकर्ताको रिहाई, स्थानीय तह संख्या थपेको खण्डमा हामी निर्वाचनमा भाग लिन्छौँ, मधेशलाई विभेद गर्न पाईदैन ।’
प्रतिकृया दिनुहोस