निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको जिम्मा फेरि कार्यदललाई दिएका छन् ।
कार्यदलका एक सदस्यका अनुसार अब सोमबार र मंगलबार कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठकले सिट बाँडफाँटबारे छलफल गर्नेछ । साथै बुधबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्ने भएको छ ।
बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेतासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटबारे छलफल गरेका थिए । त्यसक्रममा नेताहरुबीच हारजितको माइक्रो एनालाइसिस गरेर सोही अनुसार भागबण्डा गर्नु उपयुक्त हुनेमा सहमति भएको बताइएको छ ।
आइतबार बसेको बैठकले कार्यदलका सदस्यहरुलाई निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न भनेका हुन् । ‘दुई दिन छलफल गरेर जति सहमति हुन्छ, त्यसअनुसार प्रस्ताव ल्याउनुस् भन्नु भएको छ,’ कार्यदलका एक सदस्यले भने ।
यसअघि कार्यदलमा सहमति नजुपेछि शीर्ष नेताहरुले सिट संख्या टुंग्याउने प्रयास गरेका थिए । तर सहमति भने जुटेन । १०० सिटको दाबी गरेको कांग्रेस ९० सम्म झर्न तयार भएको छ । तर माओवादीले कांग्रेस र अरु दललाई आधा–आधा गर्ने प्रस्ताव राखेको छ भने एकीकृत समाजवादीले कांग्रेसले ७० लिएर अरु छाड्नुपर्ने अडान लिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र पर्सि शीर्ष नेताहरुसमक्ष पेश गर्ने बताए । उनले अघि भने, ‘न्यायाचित, सम्मानजनक र सबैले जितेको छ भन्ने भावमा सहमति हुन्छ ।’
सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको नेताहरूको भनाइ छ । यसअघि प्रतिनिधि सभामा दलहरूले दाबी गरेको संख्याबाट केही सिट तलमाथि गरेर सहमतिमा पुग्न नेताहरू सहमति नजिक पुगेका छन् ।
प्रतिकृया दिनुहोस