मेरियन्टको २ घण्टाको ‘वान टु वान’ वार्ता : पावर सेयरिङमै मिलेन कुरा
काठमाडौं । विवाद समाधानका लागि भन्दै वार्तामा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो ।
होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए ।
ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।
पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । तर, बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन सकेन ।
मेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए । तर साँझको भेट्न ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखेपछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।
कार्यदलका सदस्य भीम रावलले भने, ‘कार्यदलका तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो । सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ । फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ । फेरि पनि कुराकानी गर्ने छौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’
बैठकस्थलबाट बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले पत्रकारलाई केही पनि प्रतिक्रिया दिन मानेनन् । नेता नेपालभन्दा केही ढिलो गरी राति ९ बजेर ५२ मिनेटमा होटलबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिडियालाई कुनै प्रतिक्रिया दिएनन् ।
प्रतिकृया दिनुहोस