विप्लव समुहका १२५ जना नेता अझैं जेलमै
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच २१ फागुन २०७७ मा तीन बुँदे सहमति भएको थियो । सो सहमतिमा विप्लव समूहले शान्तिपूर्ण राजनीतिको मार्गमा आउने प्रतिबद्धता जनाएको थियो भने सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका नेता कार्यकर्ता छाड्ने भनेको थियो ।
तर, चार महिना पुग्दा पनि सरकारले अझैं हेमन्तप्रकाश ओली (सुदर्शन), चुडामणी ओली (आदर्श) र रणवीर थुनामा नै छन् । उनीहरूसहित १ सय २५ बढी नेता कार्यकर्ता थुनामा छन् ।
प्रहरीले सामान्य प्रकृतिका अर्थात् जघन्य प्रकृतिबाहेकका घटनामा संलग्न रहेका विप्लव समूहका नेता कार्यकर्ता छुटेको तर अदालतमा मुद्दा चल्दै गरेका र पुर्पक्षमा पठाइएका भने छुट्न बाँकी रहेको बताउँदै आएको छ ।
नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए ।
तर, सहमतिको चार महिना बित्दा पनि आफ्ना नेता कार्यकर्तालाई सरकारले थुनामुक्त नगरेको र कतिपयको मुद्दा नै चलिरहेको भन्दै सो समूहले सहमति कार्यान्वयन गर्दै थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई छाड्न सरकारसँग आग्रह गरेको हो । प्रकाण्डले प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न १० दिनको समय दिँदै ध्यानाकर्षण गराइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस