एमाले स्थायी कमिटीमा ‘बादल’ सहित आठ नेता थपिए, माधव पक्षमाथिको कारवाही निस्क्रिय
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग (खारेज) भएको छ । अब एमालेका काम कारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन् ।
आज (बुधबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निस्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निष्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।
रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिएका छन् । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।
प्रतिकृया दिनुहोस