प्रचण्ड भन्छन्, ‘कांग्रेस ओलीभन्दा क्रान्तिकारी भएर आयो त गर्नुहुन्छ के ?’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपालको लोकतन्त्र नै कमजोर बनाउन लागेको भन्दै चर्को आलोचना गरेका छन् । आज विपक्षी गठबन्धनले गरेको सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रपति संस्थाकै बदनाम भएको आरोप लगाए ।
प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिए । अध्यक्ष प्रचण्डले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गर्नु परेको दावी गरे ।
लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने प्रचण्डले बताए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।
‘हामी उस्तै उस्तै हो र, फन्डामेन्टल्ली फरक छैन र ?’ उनले प्रश्न गरे । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमविरुद्ध जस्तो परिस्थिति आए पनि सामना गर्न तयार रहने बताए ।
केपी शर्मा ओलीलाई तीन वर्षमा राम्रोसँग चिनेको भन्दै उनले भने,‘यो तीन वर्षमा राम्रोसँग चिने । संघर्ष पनि हामीले नै शुरु गरेका हौं । संघर्ष किन गरियो ? सुविधा लिन त त्यही सजिलो थियो नि । ओलीकै कारण संविधान, लोकतन्त्र, राष्ट्र सबै वर्वाद हुने भयो भनेपछि विद्रोह गरेका हौं ।’
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले सामूहिक वक्तव्य निकालेर नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताउनु भएको थियो । सो लगत्तै विभिन्न सञ्चारमाध्यमहरुले विदेशी हस्तक्षेप बढेको टिप्पणी गरेका थिए ।
लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने बताउँदै प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।
विपक्षी दलहरुबीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताए । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको उनले बताए ।
‘प्रधानमन्त्री बनाउने खेलका लागि यो आन्दोलन होइन, सिस्टम बचाउने कि नबचाउने भन्ने गम्भीर इस्युमा बनेको आन्दोलन हो,ु उनले भने, ‘माधवजीलाई एमालेमा परेको अप्ठ्यारोमा हामी पाँचदलीय गठबन्धनले सहयोग नै गर्नुपर्छ । उपेन्द्रजीलाई पनि आफ्नै दलभित्र अप्ठ्यारो परेकाले सामूहिक सहयोग गर्नुपर्छ ।’
उनले माधव नेपाल गणतन्त्रको आन्दोलनमा हिँड्दै गर्दा केपी ओली कहाँ थिए भनेर प्रश्नसमेत गरेका छन् । उनले प्रधानमन्त्रीबारे प्रश्न उठ्दा आफूले सहजै पद त्यागेको उल्लेख गर्दै आफू र ओलीलाई दाँज्न नमिल्ने समेत बताए ।
‘माधवजी गणतन्त्रको आन्दोलनमा हिँड्दै गर्दा केपीजी कहाँ हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो ?’ उनले भने ‘प्रधानमन्त्रीबारे प्रश्न उठ्दा सहजै पद छोड्ने प्रचण्ड र प्रधानमन्त्रीबाट हट्नुपरे देशै डुबाइदिन्छु भन्ने ओली उस्तैउस्तै हो ?’
उनले ओलीलाई तपाईं भन्दा कांग्रेस सय गुणा वामपन्थी बनेको भनेर फोनमार्फत नै चुनौती दिएको बताए । ‘कांग्रेस दक्षिणपन्थी र तपाईं वामपन्थी भन्ने पुष्टि गर्न मैले ओलीलाई फोनमा चुनौती दिएँ । ओलीलाई मैले भनेँ– कांग्रेस तपाईंभन्दा सय गुना बढी वामपन्थी भएर आयो’, उनले भने ।
प्रतिकृया दिनुहोस