पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन ओली तयार, यस्तो छ ६ बुँदे प्रस्ताव
काठमाडौं । लामो समयको रस्साकस्सीपछि प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् । ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।
उनले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।
आज मात्रै बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको थियो ।
दुई दिनसम्म बसेको भर्चुअल बैठकपछि १० बुँदे धारणा सार्वजनिक गर्दै आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेका ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी दिएको थियो ।
नेपाल समुहले चेतावनीसहितको अवधारणा सार्वजनिक गरे लगत्तै अध्यक्ष ओलीले एकताका लागि आहृवान गरेका छन् । एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भएपनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन् ।
‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले भनेका छन् ।
प्रतिकृया दिनुहोस