‘ओली भन्छन्, मलाई विश्वासको मत दिनुस् : कांग्रेस भन्छ, विपक्षमा मतदान गर्छौ’
कांग्रेसले दियो ओलीलाई १०० भोल्टको झड्का
काठमाडौं । बैशाख २७ गते आउन आजको दिन कटाएर ५ दिन मात्रै बाँकी छ । यो अवधीभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्नेछ । अर्थात् सबै दलहरुसँग विश्वासको मत मागिसक्नुपर्नेछ । त्यो दिनसम्म अन्य दलहरुले विश्वासको मत दिने वातावरण बनेन भने ओली सरकार टिक्ने छैन ।
बैशाख २७ गते नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप निक्कै बढेको छ । कहिले बालुवाटार त कहिले कुन नेताको दैलो टेक्न व्यस्त छन् प्रधानमनत्री ओली । त्यही क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रले केपी शर्माओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै प्रधानमन्त्री ओलीले समर्थन जुटाउन दौडधूप थालेका छन् ।
माओवादी केन्द्रले समर्थन नरहेको विधिवत जानकारी गराएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी समर्थन जुटाउन लागि परेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले माओवादीलाई समर्थन फिर्ता गरेर देखाउन चुनौती दिएका थिए । तर, माओवादी केन्द्रले ओलीले भन्दैमा समर्थन फिर्ता नलिने जनाएको थियो ।
प्रधानमन्त्री बुधबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेका हुन् । नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसहित देउवा भेट्न बुढानिलकण्ठ पुगेका ओलीले बुढानिलकण्ठमा ठाडो जवाफ पाए– त्यो हो, ‘कांग्रेसले समर्थन दिँदैन, विपक्षमा मतदान गर्छ ।’
प्रधानमन्त्री ओलीसँगको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।
‘लोकतन्त्रका लागि काँग्रेस र एमालेसँगै लडेका हौँ, अहिले पनि म लोकतन्त्रप्रति प्रतिबद्ध छु’ प्रधानमन्त्री ओलीले काँग्रेसको विश्वास जित्ने प्रयास गर्दै भनेका थिए । तर काँग्रेसले बोलीमा यसो भनेपनि व्यवहारमा लोकतान्त्रिक गतिविधिको धज्जी उडाएको भन्दै लुम्बिनी र गण्डकीको उदाहरण दिएका थिए । काँग्रेस नेताले गण्डकी र लुम्बिनीको उदाहरण दिँदा ओली मौन बसेका थिए ।
भेटवार्ता प्रधानमन्त्री ओलीले आफुलाई विस्वासको मत दिन पटक पटक आग्रह गरे । पटकपटक ओलीले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न आग्रह गरे ।
बैठकपछि कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग मागेको र नेपाली कांग्रेस प्रतिपक्ष भएकाले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पारेको बताए ।
प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको उहाँको भनाइ थियो ।
गत फागुन २३ यता माओवादी र ओलीबीच समर्थन फिर्ता गर्ने नगर्ने बारे माथापच्छी चलिरहेका बेला प्रधानमन्त्री ओलीले तीन दिन अघि मात्रै प्रतिनिधिसभाको विशेष बैठक बोलाएर आगामी बैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको यो घोषणालाई काँग्रेस, माओवादी लगायतका दलले अराजनीतिक र असंवैधानिक कदमका रुपमा लिएका छन् ।
प्रतिकृया दिनुहोस