प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो ? जंगल जाने होइन !’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सूर्य चिन्ह आफुहरुकै भएको दाबी गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रचण्डले सूर्य चिह्न दाबी गर्नुलाई दशा लागेको संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘कहिलेबाट तपाईंको भो सूर्य चिह्न ?’, ओलीले प्रश्न गर्दै भने, ‘पार्टी छोडेपछि सूर्य चिह्न ? सही बाटो हिँडेर यही बसेको भए सूर्य चिह्न उहाँको हुन्थ्यो । दशा लागेपछि के लाग्छ !’
उलने प्रचण्डले माओवादी सशस्त्र युद्धको समयमा आफू दिल्ली बसेर कार्यकर्ता र लडाकुलाई मात्र जंगल बसालेको आरोप लगाएका छन्। ‘प्रचण्ड जंगलमा न हिजो बसेका हुन्। न अब बस्ने छन्,’ उनले भने, ‘ कार्यकर्ता र लडाकुलाई मात्र जंगलमा बसाल्नु भयो । आफू त जेलवाला जेल लगाएर जुल्फी कोरेर दिल्ली बस्नु भा हो।’
प्रधानमन्त्री ओलीले प्रचण्ड समूह सही बाटोमा लागेको भए अहिले पार्टी फुटको संघारमा नआउने तर्क गरे। ‘सही बाटोमा लागेको भए पार्टी एकता हुन्थ्यो। पार्टीले सानदारकासाथ जीत हाँसिल गर्थ्यो,’ उनले भने।
उनले अब प्रचण्ड समूहले कुनै पनि हालतमा चुनाव नजित्ने जिकिर गरे। उनले विगतको चुनावमा प्रचण्डलाई आफूले नै जिताएको दावी गरे। ‘उनीहरुलाई चितवनमा हामीले जिताएका छौं। ‘२०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो। ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र प्रणाम गरेर जिताएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘२०७० सालमा त बत्ती निभाएर, बाकस साटेर जिताएको हो त्यसअघि कीर्तिपुर हारेको हो। पहिला रोल्पा जानुभो, त्यसपछि सिरहा जानुभयो, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो ? जंगल जाने होइन १’
प्रतिकृया दिनुहोस